त्रिशुली बस दुर्घटना : ज्यान गुमाउनेको संख्या सात पुग्यो, चालक पक्राउ

त्रिशुलीले बगाएर दुई किमि तल पुर्‍याएका यात्रुको जीवितै उद्धार


२३ फाल्गुन २०८०, बुधबार
Trishuli accident scaled

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । ज्यान गुमाउनेमा ६ पुरुष र एक महिला छिन् । ३८ यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको र अरुको भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

बस दुर्घटनामा घाइते भएका एक जनाको नदीले बगाउँदै गरेको अवस्थामा उद्धार भएको छ । नदीले बगाएर घटनास्थलबाट करिब दुई किमी तल पुर्याएका एक घाइतेको सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन टोलीले जीवितै उद्धार गरेको हो । नदीबाट निकालेर उनलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेट जाँदा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७