कृष्ण कँडेल र पीडित भनिएकी महिला दुबैले फिर्ता लिए एकअर्काविरुद्धको मुद्दा


२३ फाल्गुन २०८०, बुधबार
krishna kadel

काठमाडौं । लोकगायक तथा लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा यौन दुर्व्यवहारको आरोपमा दर्ता मुद्दा फिर्ता लिइएको छ । काठमाडौं जिल्ला अदालतमा कँडेलविरुद्ध दर्ता गरिएको यौन दुर्व्यवहार आरोपसम्बन्धी मुद्दा पीडित भनिएकी महिलाले फिर्ता लिएकी हुन् ।

इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने ती महिलाले आफूमाथि पटक–पटक यौन दुर्व्यवहार भएको भन्दै कँडेलविरुद्ध गत फागुन १३ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकी थिइन् । पीडित भनिएकी गायिकाले कोठामा पुगेर करणीको प्रयास भएको भन्दै हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । तर बुधबार पीडित भनिएकी ती महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् ।

महिलाले मुद्दा दर्ता गराएपछि कँडेलका नाममा अदालतमा उपस्थित हुन २१ दिनको म्याद जारी गरिएको थियो । तर म्याद गुज्रिनुअघि नै मुद्दा फिर्ता लिइएको हो । महिलाले आफूविरुद्धको मुद्दा फिर्ता लिएपछि कँडेलले पनि अर्को मुद्दा फिर्ता लिएका छन् । कँडेलले ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा पनि फिर्ता लिएका छन् । यसअघि ‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेल र विरोधमा उत्रिएका कलाकारहरूबीच फागुन १० गते समझदारी भएको थियो ।

इन्द्रेणीबाट निकालिएका छमध्ये पाँच कलाकार र सञ्चालक कँडेलबीच सहमति भएको थियो । तर उक्त सहमतिका क्रममा कँडेललाई आरोप लगाएकी ती महिला उपस्थित थिइनन् । त्यसबेला दुवै पक्षले एकअर्काविरुद्ध अब कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिबद्धता सहमतिपत्रमा जनाएका थिए । त्यसअघि ती महिलासहित ६ जना फेसबुक लाइभमा आएर कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । कँडेलले पनि पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका थिए । उनले आफूलाई आरोप लगाएकी ती महिलाविरुद्ध अदालतमा मानहानीको मुद्दा हालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७