प्रधानमन्त्रीपछिको वरियतामा रघुवीर, तेस्रोमा नारायणकाजी र रवि


२३ फाल्गुन २०८०, बुधबार
Raghubir narayankaji rabi

काठमाडौं । नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको वरियता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन् । तेस्रो वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहने छन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरियता रविभन्दा अघि रहने छन् ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरियतामा महासेठ रहने सहमति भएको हो । महासेठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहने छन् । नारायणकाजी श्रेष्ठ त्यसपछिको वरियतामा रहने गरी उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बन्ने छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालय बाँडफाँटमा खासै कुनै अडान नलिएको स्रोतको भनाइ छ । तर सरकारमा वरियतामा महासेठ प्रधानमन्त्रीपछिको दोस्रो हुनुपर्छ भन्ने उनको भनाई थियो । प्रधानमन्त्रीले नारायणकाजीलाई यो कुरा सुनाउँदा उनले हुन्छ मलाई केही फरक पर्दैन भनेपछि सोही अनुसार राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको सूची पठाइएको स्रोतको भनाइ छ ।

महासेठ यसअघि ओली प्रधानमन्त्री भएका बेला करिब दुई साता उपप्रधानमन्त्री बनेका थिए । यसअघि पनि श्रेष्ठभन्दा माथिल्लो वरियतामा कांग्रेसका पूर्णबहादुर खड्का थिए भने त्यसभन्दा पहिले पनि विष्णु पौडेल उनीमाथि माथिल्लो वरियतामा रहेकाले दलीय हैसियतलाई सहजरुपमा लिएर स्वीकार गरेको श्रेष्ठ निकट नेताहरू बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७