सुदूरपश्चिम प्रदेशमा राप्रपाले स्वीकारेन मन्त्रीको प्रस्ताव, रोकियो मन्त्रिपरिषद पुनर्गठनको प्रयास


२५ फाल्गुन २०८०, शुक्रबार
kamal shaha

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको मन्त्रिपरिषद गुर्गठनको पहल विफल भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विहीबार राति नै मन्त्रिपरिषद पुनर्गठनको पहल थाले पनि तत्कालका लागि रोकिन पुगेको छ ।

वैकल्पिक गठबन्धन बनाएर मध्यरातसम्ममा मन्त्री थप्ने उनको योजना दलहरूबीच सहमति जुट्न नसक्दा तत्कालका लागि रोकिएको छ । राप्रपालाई फकाउने प्रयास सफल नभएपछि कार्यालयमै रोकिएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र प्रदेश प्रमुखको कार्यालयका कर्मचारी अबेर राति मात्र घर फर्किएका थिए । सुदूरपश्चिममा ५२ सांसद छन् । जसमध्ये कांग्रेसका १८, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ नेकपा एकीकृत समाजवादीका ४ जना छन् । राप्रपा र स्वतन्त्र १-१ सांसद छन् ।

मुख्यमन्त्री शाहले आफ्नो पार्टीका १८, नागरिक उन्मुक्तिका ७ स्वतन्त्र र राप्रपाका १÷१ सांसदलाई लिएर राति नै सरकार विस्तारको तयारी गरेका थिए । त्यसैका लागि अछाम जाँदै गरेका प्रदेश प्रमुख देवराज जोशी डडेलधुराबाटै धनगढी फर्किए । वैद्यनाथ धाममा लागेको कोटिहोमको समापन समारोहका लागि हिँडेका उनलाई मुख्यमन्त्रीले फर्किन अनुरोध गरेका हुन् ।
आज आउने तयारिमा रहेका डडेल्धुरा रहेका स्वतन्त्र सांसदलाई पनि मन्त्रीको अफर दिएर राति नै धनगढी बोलाइएको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयमा राति अबेरसम्म कर्मचारीलाई ‘स्ट्याण्ड बाइ’ राखिएको थियो ।

‘मुख्यमन्त्री ज्यू पुरै तयारीमा हुनुहुन्थ्यो तर, प्राविधिक तयारी देखिएन’ एक नेताले भने ‘राप्रपाले प्याकेजमा कुरा गरेपछि राति सरकार विस्तार नभएको हो । स्वतन्त्र र नाउपा सरकारमा जान तयार भइसकेका थिए ।’ राप्रपाकी सांसद खिमा विष्टले केन्द्रमै कुरा भइरहेको बताइन् । सुदूरपश्चिममा मात्र नभएर अन्य केही प्रदेशमा पनि राप्रपा निर्णायक रहेको भन्दै उनले प्याकेजको छलफल केन्द्रमै भइरहेको जानकारी दिएकी छन् । भोलि पार्टीको बैठक बस्ने र त्यसले यस विषयमा निर्णय गर्ने उनको भनाइ छ । नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले अहिलेसम्म पनि आफूहरूको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई रहेको र यही सरकार बहुमत पुग्ने अवस्थामा अर्को विकल्प नखोज्ने बताएका छन् ।

मुख्यमन्त्री शाहले माओवादीका तीन र नेकपा एकीकृत समाजवादीका एक मन्त्री बर्खास्त गर्दा पनि नाउपाका मन्त्रीलाई चलाएनन् । यता माओवादीले र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता नाउपाले यस विषयमा कुनै निर्णय गरेको छैन । नाउपाले निर्णय नगर्दासम्म समर्थन कायम रहन्छ । नाउपाले समर्थन गर्दा पनि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा भने परिसकेको छ । राप्रपा र स्वतन्त्रले साथ दिँदा जोगिने सरकार उनीहरूको साथ नपाउँदा ढल्ने निश्चित छ ।

वैकल्पिक गठबन्धनको रूपमा नाउपा, राप्रपा र स्वतन्त्रको साथ लिएर अगाडि बढ्ने योजनामा मुख्यमन्त्री शाह छन् । उनले स्वतन्त्र र राप्रपाका सांसदलाई मन्त्री अफर गरिसकेका छन् । मुख्यमन्त्रीले आज पनि सरकार विस्तारको गृहकार्य गर्ने जनाइएको छ । नाउपाका नेता रेशम चौधरी पनि धनगढी पुगेका छन् । उनी निरन्तर गोप्य रूपमा छलफलमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७