अझै पुनर्निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना, विजुली उत्पादन ठप्प


२५ फाल्गुन २०८०, शुक्रबार
Bijuli

ताप्लेजुङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनर्निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सीमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत गृहमा बाढीपहिरोले क्षति गरेको छ । आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प रहेको हो ।

जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा रु ७० करोड बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्य समेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत गृह र अन्य संरचनामा क्षति गरेको थियो ।

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए । पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिए । आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहनुपरेको छ ।

आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ । अरुण काबेली पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनाअघिदेखि सुरु भएको हो । इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोहीअर्थात् एकै समयमा बाढी पहिरोले क्षति गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७