सरकार बनेकै दिनदेखि दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागे : झलनाथ खनाल


२६ फाल्गुन २०८०, शनिबार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको रणनीतिक महत्वका कारण भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) बिहान सरकारलाई शुभकामना दिँदै खनालले नयाँ गठबन्धनको सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेर अहिलेको सरकार बन्नु सकारात्मक परिवर्तन रहेको उनले उल्लेख गरेका छन् ।

‘यो सरकार बन्दा आमजनतामा नँया आशाको सञ्चार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन्,’ विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ । यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन् ।’

चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत गर्ने गर्ने उनको भनाइ छ । ‘कतिपय पार्टीहरूभित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन् । यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ,’ उनले भनेका छन् ।

विगतको गठबन्धन सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेको खनालको भनाइ छ । ‘देशको राजनीति, अर्थतन्त्र, सामाजिक तथा सांस्कृतिक स्थिति र राष्ट्रियता सबै क्षेत्र झनझन संकटग्रस्त बन्दै गइरहेको थियो । बेरोजगारी र भ्रष्टाचार झन व्यापक बन्दै गएको थियो र देशका युवाहरू बाहिर जाने क्रम झनझन तीब्र बनिरहेको थियो,’ उनले भनेका छन्, ’त्यसले गर्दा वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो र मुलुकको राजनीतिक कोर्स बदल्नु पर्छ भन्ने माग प्रबल बनिरहेको थियो ।’

1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७