सिरहामा होटल सञ्चालक महिलाको हत्या : शंकाको सुई पतितिरै

दुई पुरुष र दुई महिला पक्राउ


२७ फाल्गुन २०८०, आईतवार
siraha hatya 1

सिरहा । सिरहाको गोलबजारमा हिजो (शनिबार) मध्यराति होटल सञ्चालक एक महिलाको हत्या घटना अनुसन्धानका लागि प्रहरीले उनका पतिसहित चार जनालाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका–६ मा होटल चलाउँदै आएकी ३२ वर्षीया अनिताकुमारी साहको शनिबार मध्यराति हत्या भएको थियो । घटना अनुसन्धानका लागि अनिताका पति महेन्द्रकुमार साहसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्ररही उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिएका छन् ।

siraha hatya 2

उनले घटना अनुसन्धानका लागि मृतकका पति महेन्द्रसहित दुई पुरुष र दुई महिलालाई नियन्त्रणमा लिइएको बताए । उनले घटना अनुसन्धान जारी रहेको र थप विवरणपछि सार्वजनिक गरिने बताए । उनले पक्राउ परेका थप तीन जनाको नाम भने खुलाउन चाहेनन् । मृतक महिलाका पतिको गतिविधि शंकास्पद देखिएकाले उनलाई पनि नियन्त्रणमा लिइएको एसपी आचार्यले बताएका छन् ।

घटनापछि उनी बेहोस् जस्तो देखिएको, सुरुमा उनी घाइते छन् भन्ने लागेकाले अस्पतालमा लगेर परीक्षण गर्दा उनमा कुनै चोटपटक नदेखिएको उनले बताएका छन् । उनले भने, ‘घटनापछि डरत्रासको कारण उनी बेहोस जस्तो मात्रै देखिएका रहेछन् । उनको भूमिका पनि घटनामा शंकास्पद देखिएको छ ।’

यसैबीच अनिताको शव लहानमा रहेको सरकारी अस्पतालले परीक्षण गर्न अस्वीकार गरेको छ । लहान अस्पतालका डाक्टरले शव परीक्षण गर्न नमानेपछि गए राति धरान लगिएको एसपी आचार्यले जानकारी दिए । लहानस्थित राउ स्मारक प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल कुशवाहाले विवादित केसको पोष्टमार्टन आफूहरुले नगर्ने भन्दै धरान रेफर गरेका हुन् । मृतक महिलाको घर सिराहाको धनगढी हो । उनको माइती घर पनि सिरहा नै भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७