दाइजोमा सुनको सिक्री नपाएपछि मण्डपमै बेहुली छाड्ने बेहुलासहित पाँच जनाविरुद्ध मुद्दा


३० फाल्गुन २०८०, बुधबार
beula 5 CaVeLlfH28

वीरगञ्ज । दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह गर्न नमान्ने बेहुलासहित पाँच जनामाथि विवाहसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । सुनको सिक्री नपाएको भन्दै मण्डपबाट विवाह नै नगरी जन्ती लिएर फर्किरहेका बेहुला बारा कलैया उपमहामगरपालिका–४ बस्ने वर्ष २८ को उमेश साह गोढसहित पाँच जनामाथि मुद्दा दर्ता गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी कुमारविक्रम थापाले जानकारी दिएका छन् ।

बेहुलासहित पक्राउ परेका उनका बुवा बच्चालाल साह गोढ, दाइहरू राकेशकुमार साह, मुकेशकुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका–५ बस्ने रामएकवाल साह माथि पनि मुद्दा दर्ता गरिएको हो । पाँचै जनालाई विवाहसम्बन्धि कसुरमा अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता थापाले बताए ।

फागुन २८ गते पर्सा वीरगञ्ज महानगरपालिका–२४ स्थित रामगढवामा बेहुला साह विवाहको लागि जन्ती आएका थिए । उनको विवाह सुखल साहकी छोरी रमिता कुमारीसँग तय भएको थियो । सामाजिक परम्पराअनुसार विवाह भैरहेको अवस्थामा रातिको दुई बजेको समयमा बेहुला पक्षबाट दाइजो स्वरूप सुनका गहाना, नगद, मोटरसाइकल, ल्यापटप, कपडा पाएता पनि सुनको सिक्री नपाएको भनी बेहुला साहले विवाह गर्न मानेका थिएनन् ।

थप दाइजो स्वरूप सुनको सिक्री दिन नसक्ने केटी पक्षले बताएपछि बेहुलाका आफन्तहरूले वेहुली पक्षकाहरूसँग विवाद तथा हातपातसमेत गरी विवाह छोडी जान लागेको बेला वडा प्रहरी कार्यालय, श्रीपुरबाट गएको प्रहरी टोलीले बेहुलासहित पाँच जनालाई पक्राउ गरेको थियो । यसै विषयमा मंगलबार दिनभरि दुबै पक्षबीच कुरा नमिलेपछि प्रहरीले मुद्दा दर्ता गरी कारवाही अघि बढाएको हो । बेहुला साह वीरगञ्ज महानगरपालिकाको स्वास्थ शाखामा करारमा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७