शिवपुरी जङ्गलमा गाडिएको अवस्थामा भेटियो एक महिनादेखि बेपत्ता किशोरीको शव


३० फाल्गुन २०८०, बुधबार
sushma

काठमाडौं । एक महिनादेखि हराइरहेकी एक किशोरीको शव हत्या गरी जङ्गलमा गाडिएको अवस्थामा भेटिएको छ । गोकर्णेश्वर नगरपालिका–३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा किशोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए । उक्त हात फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हात मात्रै देखिएको शरीर गाडिएको अवस्थामा शव फेला परेको खबरपछि प्रहरी टोली खटिएको एसपी अधिकारीले जानकारी दिए । त्यस राति प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो । फागुन २५ गते शुक्रबार बिहान ८ बजे परिसर र प्रहरी वृत्त बौद्धबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको थियो । विशेषज्ञ तथा फरेन्सिक डाक्टर सहितको टोली पनि खटिएको थियो । गाडिएको शव निकाल्दा मृतक गोकर्णेश्वर नगरपालिका–३ बस्ने १८ वर्षीया सुष्मा लामा रहेको खुलेको थियो ।

उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन् । उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । त्यसपछि हुलिया परिपत्र, टेलिफोन, कल–डिटेल, विश्लेषण गरिएको थियो । त्यस्तै सम्भावित स्थानहरूमा खोजी गरिरहेको बेलामा शव फेला परेको एसपी अधिकारीले बताएका छन् ।

शव फेला परेपछि आमा लुच्ची तामाङलाई घटनास्थलमा लगेर सनाखत गरिएको थियो । शव टिचिङ अस्पतालमा पोष्टमर्टम भइसकेको छ । प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान भइरहेको छ । उक्त घटनामा प्रहरीले कसैलाई पक्राउ गरिसकेको भने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७