सांसद राजेन्द्र पाण्डेको प्रश्न : प्रधानमन्त्री ज्यू यो भन्दा अनैतिकता के हुन्छ ?


३० फाल्गुन २०८०, बुधबार
Rajendra pandey scaled
फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पाण्डेले अहिले आफ्नो अवस्था अस्पताल उद्घाटन गरेको स्वास्थ्यमन्त्रीको जस्तो भएको बताए । ‘सफल होस् भनौं भने पनि सबै मान्छे विरामी होउन् भनेको हो । उद्घाटनकै दिन सफल होस् भनौं भने के भनौं,’ उनले भने, ‘आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिन नै मैले यसो भन्नुपर्छ भने भविश्यमा के सोच्ने हो ।’

उनले नयाँ गठबन्धन गर्दा एकीकृत समाजवादीलाई छाड्नु अनैतिक भएको समेत बताए । संविधानको रक्षाका लागि आफूले बनाएको पार्टीमा विद्रोह गरेर प्रचण्डलाई साथ दिएको भन्दै उनले भने, ‘हामीलाई बाटोमा छाडेर हिँड्नु भयो । योभन्दा अनैतिकता के हुन्छ ?’

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सो कुरा बताएका हुन् । नेता पाण्डेले कामका लागि दैनिक सयौँ युवा विदेशिनु पर्ने बाध्यता रहेको र प्रभावकारी रुपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको उल्लेख गर्दै बेरोजगारी बढ्दा जनतामा निराशा बढेकोबारे सरकारको ध्यानाकर्षण गराए ।

संसद्बाटै बनेको कानुनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको उल्लेख गर्दै विद्यार्थी अध्ययनका लागि विदेशिनु परेको बताए । उनले जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिए । साथै उनले प्रधानमन्त्री दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७