उपत्यकाका ३२ महाविहारका १२५ देवी देवताको दर्शन


१ चैत्र २०८०, बिहीबार
bu2

ललितपुर । ललितपुरको नागबहालमा आउने आजबाट उपत्यकाका ३२ महाविहार (बहाःबही) हरुका १२५ देवी देवताको दर्शन एवम पूजा गर्न पाइने भएको छ ।

चापाँगाउँ, बुंङ्गमती, कीर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको एक स्थान प्रदर्शनी गर्ने र दर्शन गर्न पाउने यस्तो अवसर यो पाँच वर्षपछि जुरेको हो । पाँच वर्षको एकचोटी फागुण शुक्ल तृतीया र चौथीको दिन सम्यक महादान पर्व हुने परम्परा छ । सोही अनुरुप सम्यक महादान पर्वको मुख्य दिन चैत्र १ गते विहीबार बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म देवीदेवताको दर्शन तथा पुजाआजा गराउने कार्यक्रम रहेको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले जानकारी दिए ।

bu

दिउँसो नागबहाल परिसरमा रहेको ढुङ्गेधारामा धाः बाजा र बाँसुरी बाजाको प्रदर्शन गरिने जनाइएको छ । समितिका अध्यक्ष बज्राचार्यका अनुसार दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमीशोधन पुजाका साथै दानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन बज्रयानी बौद्ध परम्परा अनुसार मौलिक पोशाकमा सजिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर आजु (जेष्ठ) आजुलाई पनि दान दिने गरिन्छ । सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत धानचामल, लड्डु पुरी र दक्षिणा दान दिइन्छ । यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ ।

यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । यही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको अध्ययेता लोकरत्न शाक्यले बताए । ‘सम्यक महादान लिच्छिविकालीन अमूर्त संस्कृति हो । सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको छ’ अध्येयता शाक्यले भने । सम्यक महादान पर्वको अघिल्लो दिन अर्थात् फागुण ३० गते बुधबार राति भने बढी रौनकता छाउने गर्दछ । राति १० बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनहरुको लावालस्कर, परम्परागत धा बाजाका साथ देवीदेवताहरुलाई खटमा राखेर, बोकेर नागबहाल पुर्‍याउने गरिन्छ । ‘बढी भीडभाड हुने, धाः बाजाको गुञ्जनसंगै पुरै माहौलले छोप्ने भनेको यही बेला हो’ अध्यक्ष बज्राचार्यले भने ।

नागबहालमा देवी देवता पुर्‍याउनु अघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिनेछ । त्यसपछि टंगलस्थित जेष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएको देवीदेवतालाई नागबहालमा क्रमबद्ध रुपमा देवीदेवताको विराजमान गराइने परम्परा रहेको छ । त्यस्तै सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रुपमा गौतम बुद्ध भन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रुपमा गौतम बुद्ध र भविष्यको बुद्धका रुपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ । सम्यक दानमा खीर, लाखामरी गरी मीठाईका विविध परिकार सामग्री, रोटी फलफूल दान दिने गरिन्छ ।

यसका लागि पम्परागत रुपमा गर्नुपर्ने विधि र प्रक्रियाहरु फागुण १ गतेदेखि शुरु भएको समितिका प्रचारप्रसार संयोजक विश्वन्तर शाक्यले जानकारी दिए । सम्यक महादान पर्व अगावै विभिन्न धार्मिक विधि र परम्पराहरु गर्नुपर्ने पनि प्रचारप्रसार संयोजक शाक्यको कथन रहेको छ । संयोजक शाक्यका अनुसार सो पर्वमा देवीदेवतालाई चढाउन रोटी पकाउने काम धार्मिक विधिपूर्वक फागुण २ गतेदेखि शुरु गरिएको थियो । फागुण ३ गते नागबहालमा प्रतिस्थापित बासुकी र चम्पक नागराजको प्राण प्रतिष्ठा निकालिएको थियो ।

bu1

फागुण २४ गते योसि द्यः ठड्याउने तथा हलिपताका फहराइएको थियो भने फागुण २८ गते सम्यक महादानमा भाग लिन परम्परा अनुसार विभिन्न महाविहारमा गएर निमन्त्रणा गरिने छ । सो पर्वका लागि पुजा व्यवस्थापन, अतिथि सत्कार, शान्ति सुरक्षा, आर्थिक, गरी १० वटा समिति गठन गरिएको छ । ललितपुरमा ७ सय ७३ वर्षअघि ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सम्यक महादान पर्व निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ । वि.सं १८६१ सम्म वर्षेनी भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच वर्षमा एकचोटी सञ्चालन हुँदै आएको छ । अब हुन लागिएको ५४ औं सम्यक महादान पर्व हो ।

यस्तो छ किवदन्ती

सम्यक महादान पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसंग सम्बन्धित रहेको छ । यसपर्वको शुरुआतसंग एउटा किवदन्ती चर्चामा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो।भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले । भलिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए।धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो ।

त्यस धन दान दिन दीपंकर बुद्धका प्रतिमाहरु, आर्यतारा आदि देवदेवीहरु र चैलक, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्य भिक्षु, वज्राचार्य इत्यादिहरुलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको थियो । धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ । हिरण्यवर्ण महाविहारको बंशावलीमा उल्लेखित यस किवदन्तीको प्रमाणिक आधार नभए पनि यसले आफूमा भएको दान सम्पति दान दिने उद्देश्यले सम्यक महादान चलाइएको भने सन्देश दिन खोजेको बौद्ध विद्धानहरुको कथन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७