कार्यपालिका बैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा तीन टाँका


१ चैत्र २०८०, बिहीबार
parshuram

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको छ । कार्यपालिका सदस्यहरूले उनीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीन वटा टाँका लगाइएको छ । कार्यपालिकामा नेकपा माओवादी केन्द्रका बहुमत सदस्य छन् । बैठकमा एजेण्डामाथि विवाद भएपछि जोशीमाथि आक्रमण भएको हो । कार्यपालिकाका एक सदस्यका अनुसार आज बजेट संशोधन गर्नेसहित १३ एजेण्डामाथि छलफल गर्न बैठक बोलाइएको थियो । तर, कार्यपालिकाका माओवादी निकट सदस्यहरुले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकासकीय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका हुन् ।

यस्तै, केही समयअघि नगरपालिकाकी उपप्रमुख विमला कुमारी बोहराले आफ्ना श्रीमान्लाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन्। तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको एक स्थानीयले बताए । उपप्रमुख पनि माओवादी केन्द्रबाटै विजयी भएकी हुन् । नगरपालिकाका प्रमुख भरतराज जोशी भने कांग्रेसबाट विजयी भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७