उपनिर्वाचन अपडेट : हालसम्म इलाममा ४० र बझाङमा ३४ प्रतिशत खस्यो मत


१५ बैशाख २०८१, शनिबार
ilam chunab 2

काठमाडौं । इलाम र बझाङमा शान्तिपूर्ण रुपमा उपनिर्वाचनको मतदान जारी छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा जारी मतदानमा ४० प्रतिशत मत खसेको छ । आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार, लगभग ४० प्रतिशभन्दा बढी मत खसिसकेको छ ।

अहिलेसम्म मतदान कार्य सहज रुपमा अघि बढेको उनले बताएका छन् । आठ वटा बुथका लगभग २५ वटा केन्द्रमा पुग्दा प्रत्येक बुथबाट २५० भन्दा बढी मत खसेको रिपोर्ट आएको उनले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा खटिएका अधिकृतहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खसेको मतबारे रिपोर्ट गरिरहेको छ । बिहानैदेखि शान्तिपूर्ण रुपमा निर्वाचन अघि बढेको आचार्यले बताए । इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन् ।

बझाङमा ३४ प्रतिशत मत खस्यो
प्रदेश सभा सदस्य चयनका लागि बझाङ प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा १ मा मतदान भइरहेको छ । हालसम्म सबै मतदानस्थलमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘अहिलेसम्म कतै केही विवाद भएको छैन । शान्तिपूर्ण तवरले मतदान चलिरहेको छ,’ मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछाने भने ।

बझाङमा मतदान चलिरहँदा कतिपय ठाउँमा पानी पर्ने मौसम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो बिहान १ः३० बजेसम्म ३४ प्रतिशत मतदान सम्पन्न भएको छ । यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र छन् भने ६१ हजार ७४८ मतदाता छन् ।

बिहान ७ बजे सुरु मतदान अपराह्न ५ बजेसम्म जारी रहने जनाइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन भइरहेको हो । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन् ।

यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७