पूर्व आईजीपीद्वय सिंह र खनाललाई राज्यको निगरानीमा राख्न सिफारिस


४ चैत्र २०८०, आईतवार
khanal shingh

काठमाडौँ । सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित आयोगले दुई पूर्व प्रहरी प्रमुखलाई निगरानीमा राख्न सिफारिस गरेको छ । ६० किलो सुन तस्करी प्रकरण छानबिन गर्न पूर्व न्यायाधीश डिल्ली आचार्य संयोजकत्वको छानबिन समितिले पूर्व महानिरीक्षक धिरजप्रताप सिंह र सर्वेन्द्र खनाललाई सुन तस्करहरुसँग निरन्तर सम्पर्कमा रहेको ठहर गर्दै निगरानीमा राख्न सुझाव दिएको हो ।

‘दुई पूर्व महानिरीक्षक सिंह र खनाललाई निगरानीमा राख्न सिफारिस गरेको छ । त्यस्तै, छानबिन समितिले एसपी सञ्जय सिंह थापालाई निगरानीमा राख्न भनेको छ’, गृह स्रोतले भन्यो । नुवाकोट प्रहरी प्रमुख रहेका थापालाई अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोपमा जिम्मेवारीबाट हटाएर प्रहरी मुख्यालय तानिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै रहेर ६० किलो छानबिन समितिमा संलग्न डिएसपी रुगम कुँवरलाई पनि निगरानीमा राख्न सिफारिस गरेको स्रोतको दाबी छ । उनलाई पनि जिम्मेवारीबाट हटाएर मुख्यालय तानिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार बीथ ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई पनि निगरानीमा राख्न भनेको छ ।

कुनै बेला नायब सुब्बाका रुपमा काम गरेका भण्डारीलाई सुन तस्करीमा संलग्नहरुसँग टेलिफोन सम्पर्कमा रहेको देखिएकाले निगरानीमा राख्न सुझाव दिइएको हो । छानबिन समितिले पाँच नेपाली, ९ चिनियाँ र एक भारतीय नागरिकमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेको छ । समितिले माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र विज्ञ जिवन चलाउने, सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेमाथि अनुसन्धान गर्न भनेको छ ।

छानबिन समितिले सिआईबी प्रमुख एआईजी किरण बज्राचार्य र डिएसपी दुर्गा दाहालमाथि पनि अनुसन्धान गर्न भनेको छ । छानबिन समितिले होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन भनेको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६० किलो सुन बरामद भएको थियो । त्यस्तै, २०७९ पुस १७ गते विमानस्थल भन्सार कार्यालयले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ किलो तस्करीको सुन बरामदपछि सरकारले गत असोज १४ आचार्यको संयोजकत्वमा आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्व सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका पूर्व सहसचिव प्रेमराज जोशी सदस्य थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७