मधेशमा कांग्रेसका मन्त्री हटाइए, एमाले भित्रियो, यादवले लिए शपथ


५ चैत्र २०८०, सोमबार
saroj

जनकपुर । सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारबाट कांग्रेसलाई हटाएर एमालेलाई भित्र्याएका छन् । आज (सोमबार) गरिएको मन्त्रिमण्डल पुनर्गठनमा कांग्रेसका मन्त्रीलाई हटाएर एमालेबाट मन्त्री थपेका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार अपराह्न एमालेका संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) लाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा मन्त्री यादवलाई शपथ ग्रहण गराएकी हुन् । मधेश प्रदेश सरकार पुनर्गठन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीका अनुसार एमालेलाई सहभागी गराउँदै मधेश प्रदेश सरकार सोमबार पुनर्गठन गरिएको बताएका छन् । उनका अनुसार मन्त्रिमण्डल पुनर्गठन भएसँगै कांग्रेसका मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । मधेश प्रदेश सरकारमा कांग्रेसका ३ जना मन्त्री थिए । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार तथा विकास, वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या तथा मोहम्मद समिम गृह तथा सञ्चारमन्त्री थिए ।

‘मधेश सरकारमा कांग्रेसका मन्त्रीहरुको भूमिका सहयोगी नै थियो । मुख्यमन्त्री ज्यूले त्यसैले कांग्रेसका मन्त्रीलाई बर्खास्त नगरी मन्त्रीमण्डल पुनर्गठन गरेर स्वतः पदमुक्त गरिएको हो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार अग्रहरीले भने । मधेश प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरु भने मुख्यमन्त्रीले पदमुक्त नगरेसम्म नछोड्ने अडानमा थिए । उनीहरु राजिनामा नगरेर बसिरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७