महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला


११ चैत्र २०८०, आईतवार
patheghar

बझाङ । ५२ वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइन् । यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन् ।

रोग र गरिबीसँग लड्दै आएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पना मात्र । सुरुमा रोगको बेवास्ता गरेकी उनले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशषेज्ञ डा. कविता साहसँग सम्पर्क गरिन् । आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन् ।

रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कदा रोगले च्याप्दै गएको थियो । ‘धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए’, उनी भन्छिन्, ‘पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।’

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो । गत साता डा. साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताइन् । उनले भनिन्, ‘दश वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो । खुसीको कुरा, भगवान् नै फेला परेजस्तो भयो ।”’लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उनले बताइन् । उनले भनिन्, ‘मेरो समस्या सुनेर घरपरिवार मात्रै होइन, आफन्त समेत हैरान भएका थिए । अहिले भने बिराम काटिएको भन्दै सबैको मुहारमा उज्यालो छाएको छ ।’

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो । तल्लो पेट दुख्ने, महिनाबारी गडबडी हुने, महिनाबारी हुँदा रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित उनको शल्यक्रिया गरेपछि उनले पनि समस्याबाट मुक्ति पाएकी छन् । जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा. साहको बुझाइ छ । ‘महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुनसक्छ । सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान् !’ उनले भनिन् ।

डा. साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन् । ‘म आएको दुई महिना हुन लाग्यो । दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ । पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न ।’ यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उनको अनुमान छ ।

दुई महिनाको बीचमा डा. साह आएदेखि दुई जना महिलाको सफल शल्यक्रिया भइसकेको छ । ‘म आएदेखि दुई जनाको शल्यक्रिया सफल भयो । एक जनाको अर्को साता गर्ने तयारी छ’, उनले भनिन् । डा. साह गाउँघरमा चेतनाको अभावमा महिलाले रोग पालेका बताउँछिन् । ‘जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो । आफ्नो समस्या कसैलाई सुनाउँदा बेइज्जत हुने डरले कसैलाई नभन्ने रहेछन् । आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन् ।’

डा. साह बझाङ आएपछि भने बिरामीहरूले केही आशा पलाएको छ । आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उनीहरुका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. धिरज विशङ्खले बताए । उनले भने, ‘महिलाको शल्यक्रिया निकै जटिल प्रकृतिको भए पनि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीले सफल पारेको छ ।’

उनका अनुसार जिल्लामा नै पाठेघर र मूत्रथैलीको शल्यक्रिया पहिलो पटक भएको हो । जुनसुकै शल्यक्रियाका लागि अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा अब शल्यक्रिया सेवा प्राप्त हुन बझाङबासीकै लागि खुसीको कुरा भएको उनले बताए । डा. विशङ्खका अनुसार जिल्लामा यसअगाडि महिला विशेषज्ञ डाक्टर आए पनि पाठेघरसम्बन्धी शल्यक्रिया हुन सकेको थिएन । डा. साह आइसकेपछि भने दुईवटाको शल्यक्रिया भइसकेको उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७