सांसद वडुको प्रश्न : सहकारीको एक करोड जम्मा भएका रवि हाम्रै गृहमन्त्री कि नाम मात्र मिलेको ?

‘विनोद चौधरीमाथि छानबिन भइरहेको छ भनेर सभामुखलाई कुन कानुनले चिठी दिइयो ?’


१४ चैत्र २०८०, बुधबार
badu

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सुन तस्करी प्रकरणसम्बन्धी छानविन समितिको रिपोर्ट सार्वजनिक गरिनु पर्ने माग गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै बडुले भने, ‘नयाँ सरकार बनेपछि सुन तस्करी सम्बन्धि एउटा तदारुकता देखिएको छ । तर, अनुसन्धनको रिपोर्टमा के थियो सार्वजनिक भएको छैन, त्यो रिपोर्ट सार्वजनिक भए एउटा अवस्था तय हुने थियो ।’

उनले आफ्ना सांसद बिनोद चौधरीमाथि छानविन भएको विषयमा पनि प्रश्न गरेका छन् । ‘कानुनी राज्यमा कसैमाथि पनि छानबिन नहुने भन्ने हुँदैन । तर संघीय सांसदमाथि छानबिन हुँदैछ भन्ने चिट्ठी सभामुखलाई दिइएको भन्ने आयो । यो कुन नियम र कानुनबाट गराइयो ?’ उनले प्रश्न गरे, ‘यदि पक्राउ गरेको जानकारी आयो भने जानकारी गराउनु पर्छ भन्ने व्यवस्था थियो । संविधानमा व्यवस्था नभएको कुरा अनुसार कसैमाथि छानबिन हुँदैछ भनेर किन जानकारी गराइएको हो ? के मिनिङ हो यसको ? हामी बुझिरहेका छैनौँ । किन यो चिट्ठी लेख्ने काम भयो ?’

उनले सहकारी मुद्दामा फरार व्यक्तिह रुकहाँ छन् सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन् । ‘यसमा स्पष्ट गर्न मिल्ने जति गरिदिनुस् । जनताले राखेको पुँजी अपचलन भएको छ । छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुँदैनथ्यो ? रवी लामिछानेको नाममा पनि एक करोड त्यो रकम आएको भन्ने छ । हाम्रा गृहमन्त्रीसँग नाम मात्र मिलेको हो कि के हो ?’ प्रश्न गर्दै उनले भने, ‘हाम्रो अहिलेको माननीय गृहमन्त्री ज्यु पनि त्यै नामको हुनुहुन्छ । यदि त्यो नाम गरेको उहाँ नै हो भने उहाँले छानबिन नसकिने बेलासम्म जिम्मेवारी बाट बाहिर गए हुन्थ्यो भन्ने हाम्रो कुरा हो । अहिलेको आवश्यकता नै त्यति हो ।’ उनले जतिसुकै पहुचवाला नेता भएपनि छानबिनको दायरामा आउनु पर्ने र सरकारले त्यसको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७