सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन : महानिरीक्षक कुँवर

‘महराले पिएसओ र गाडी छाडेपछि पक्राउ गरेका हौं’


१४ चैत्र २०८०, बुधबार
Basanta kuwar

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको आज (बुधबार) को बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।

कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफूहरुको पनि बुझाइ रहेको बताउँदै उनी मलेसियामा रहेको बताएका छन् । उनले भने, जीबी राई मलेसिया रहेको जानकारी पाएका छौँं । सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य छैन । हामी रेड कर्नर नोटिस, इन्टरपोललाई आग्रह गरेका छौं । उसले सहयोग गरेको छैन । रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’ उनले भने ।

आइजिपी कुँवरले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कुनै दबाबको प्रभावमा नछाडी स्वास्थ्य जटिलताले छाडेको बताए । ‘कृष्णबहादुर महरालाई स्वास्थ्यको जटिलताका कारण छाडेको हो । उहाँलाई कुनै दबाबको प्रभावमा हाजिर जमानीमा छाडेको होइन । तर, उहाँले हामीलाई सहयोग नगर्ने आभाष देखियो । उहाँले पिएसओ र गाडी छाडेर हिंडेपछि पक्राउ गरिएको हो,’ महानिरीक्षक कुँवरले भने ।

यस्तै, सुशासन समितिको बैठकमा कांग्रेसका सांसद दिलेन्द्र बडुले सहकारी प्रकरणको निष्पक्ष छानबिनको अवधिभर गृहमन्त्री रवि लामिछाने पदबाहिर बस्नुपर्ने जिकिर गरेका छन् । उनले अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि छानबिन हुँदैछ भन्ने पत्र कुन कानुनी व्यवस्थाअनुसार गरिएको हो भनी प्रश्नसमेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७