झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते


१५ चैत्र २०८०, बिहीबार
elephant 2
फाइल फोटो

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् ।

पवित्राका श्रीमान् ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल लगिएको गिरीले बताए । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ।

जंगली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका–९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ । हात्तीले गोठमा रहेको धान समेत खाएको छ । हात्तीले यसअघि मंगलबार कमल गाउँपालिका–५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो । हात्तीले आइतबार मेचीनगर नगरपालिका–३ दोकानडाँडाका टंकप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७