मन्त्रीसँगको फोटो देखाएर लाखौं ठग्ने सोनी पक्राउ


१७ चैत्र २०८०, शनिबार
e83c1bd3 3a02 4df2 af82 6d547b8b77d1.jpeg

– सञ्जय मिश्रा
रौतहट । देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरुसँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैयाँ ठगी गर्दै आएका गौरका एक जना युवक पक्राउ परेका छन् ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंस्थित बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवनकुमार सोनी पक्राउ परेका हुन् । बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपीसँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंङमा नामाङ्कन गराउने नाउँमा लाखौँ ठगेका स्थानीय दुर्गा भगवती गाउँपालिका–६ घर भएर गौर–५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवनकुमार सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् ।

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङ्कन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका–११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरासँग आठ लाख १० हजार ३७५ रुपैयाँ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् । सोनीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७