उपनिर्वाचनको सुरक्षा मजबुद बनाउन इलामका सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन

‘दबाब र प्रभावमा नपर्नुस्, कानुन पल्टाउँदा जे भन्छ त्यही गर्नुस्’


१७ चैत्र २०८०, शनिबार
rabi ilam BsXOgjMebZ

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन तयारीबारे जानकारी लिएका छन् । इलाम पुगेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् । ‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोत साधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनु होला’, उनले भने ।

निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नुपर्ने काम भए जानकारी गराउन निर्देशन दिँदै मन्त्री लामिछानेले आवश्यक समन्वय र स्रोतसाधन उपलब्ध गराउने बताए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् । इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग आज (शनिबार) गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कामय राख्न एवं अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न निर्देशन दिए । ‘तपाईंहरू कोही कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोला, कानुन पल्टाउँदा जे भन्छ त्यही गर्नुहोला, कानुबमोजिम काम गर्न गृहमन्त्रीको निर्देशन र आदेश पर्खिरहन पर्दैन,’ उनले भने, ‘तपाईंहरूको अबको प्रगति विवरण कागजमा होइन, तथ्यांकमा आउनु पर्‍यो ।’

सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिए । उनले पीडितको पक्षमा राज्य छ भन्ने अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् । ‘तपाईंहरूले कानुनको पालना गराउनुहोस्, कानुनविपरीत काम गर्ने छुट कसैलाई छैन,’ उनले भने । गृहमन्त्री लामिछानेले आफूहरू जनताका लागि काम गर्न सरकारमा सहभागी भएको उल्लेख गर्दै मन्त्रालय मातहतका निकायले प्रगति विवरण कागजले बोल्ने, मन्त्रीले अनुभूत गर्ने खालको नभई जनताले परिवर्तन भयो भन्ने प्रत्यक्षरुपमा महसुस हुने गरी काम गर्न निर्देशन दिए ।

उनले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, लागुऔषध एवं अवैध चोरीनिकासी नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट औपचारिकरूपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन गृहमन्त्री लामिछाने इलाम आएका हुन् । रास्वपाले उक्त क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि उनी आजै किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न माङ्सेबुङ–५ लारुम्बा पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७