कांग्रेसलाई सत्ता पक्षको जवाफ : गृहमन्त्री आफैले जवाफ दिनुहुन्छ, छानबिन समिति आवश्यक छैन


१७ चैत्र २०८०, शनिबार
Savamukh chhalfal

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको विषयमा संसदीय छानबिन समिति बनाउनेबारे पार्टी पदाधिकारी बैठकमा छलफल गर्ने भएको छ । आज (शनिबार) सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सचेतक सुशीला थिङले पार्टी बैठकपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे निष्कर्षमा पुगिने जानकारी गराइन् ।

‘प्रतिपक्षीको ठाउँबाट हेर्दा गृहमन्त्रीको विषयमा संसदीय छानबिन समिति छलफल नभएसम्म सदन कसरी लैजाने भन्ने विषयमा भोलि पदाधिकारी बैठक बसेर छलफल गर्छौं,’ उनले भनिन्, ‘त्यसपछि हामी हाम्रो विषय कसरी राख्ने भन्ने निष्कर्षमा पुग्छौँ ।’
उनले १८ देखि २१ गतेसम्म लगातार प्रतिनिधिसभा बैठक बस्ने पनि जानकारी गराइन् । ‘१८, १९, २०, २१ सम्म सदन कसरी चलाउने भन्नेबारे छलफल भयो,’ उनले भनिन् । त्यस्तै राजनीतिक दलसम्बन्धी विधेयकमा विवाद भएकाले अहिले त्यसलाई अघि नसार्ने सहमति भएको पनि जानकारी गराइन् ।

‘प्रतिपक्षीको तर्फबाट राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले यो विषय अहिले नल्याऔँ भन्ने सन्दर्भमा १७ गते सार्ने भन्ने सहमति भएको छ,’ उनले भनिन् । सभामुख घिमिरेले शनिबार राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग संसद सञ्चालन गर्नेबारे छलफल गरेका थिए ।

यता सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्नको लागि संसदीय छानविन समिति बनाउन आवश्यक नभएको जवाफ दिएका छन् । सदनको अवरोध हटाउन आज सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतक र सचेतकहरुको बैठक मिलनविन्दुको बिषयमा छलफल भएको थियो । थप छलफलको लागि भोलि प्रतिनिधि सभा अघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७