कफी खेती विस्तार गर्दै महाभारत गाउँपालिका


२४ चैत्र २०८०, शनिबार
coffee
फाइल फोटो

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफी खेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।

हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ । यसअघि छ वटा वडालाई पकेट क्षेत्र बनाइएको थियो । गाउँपालिकाका अनुसार यस वर्ष एक र ७ नं वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीको बिरुवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिँदै आएको छ । ‘कफीखेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रमसमेत गाउँपालिकाले गर्दै आएको छ’, पालिकाको कृषि शाखा प्रमुख खिमबहादुर डाँगीले भने ।

शाखा प्रमुख डाँगीका अनुसार यो वर्ष पनि कफी प्रवर्द्धन कार्यक्रम गाउँपालिकाको बजेटमा उल्लेख गरिएको छ । सडकको विकाससँगै कफीखेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको बताइन्छ । गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ८ मा १÷१ वटा पटेक क्षेत्र स्थापना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिइ सुरुआतदेखि नै कफी खेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको बताए । उनले भने, ‘बाँकी दुई वटा यही आर्थिक वर्षभित्र पकेट क्षेत्र बनाउने योजनाका साथ गाउँपालिका लागेको छ ।’ उनका अनुसार कफी बिक्रीबाट पालिकाभित्र वार्षिक रु ५० हजारदेखि आठ लाखसम्म आम्दानी गर्ने किसान छन् ।

सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नं २ मा सबैभन्दा बढी कफीखेती भइरहेको छ । पालिकाका वडा नं ३, ४, ५, ८, ६, ७ र १ मा कफी खेती हुँदै आएको हो । उक्त गाउँपालिकाका एक हजार किसान व्यावसायिक कफी खेतीमा संलग्न छन् । कृषि शाखाका अनुसार गत वर्ष करिब डेढ लाख केजी चेरी–कफीको फल) उत्पादन भएको थियो । एक हजार चार सय ३३ रोपनी जमिनमा कफी खेती भइरहेको छ । गाउँपालिकाले गत वर्ष किसानलाई एक लाख कफीको बिरुवा वितरण गरेको थियो भने कफीको दुई नर्सरी स्थापना गरेको जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७