सहकारीमा मेरै २३ लाख डुबेको छ, उठाई दिनेलाई अलिकति दिन्थे : श्रममन्त्री अर्याल


२४ चैत्र २०८०, शनिबार
dp aryal
फाइल फोटो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले बिरोध गरिरहेको आरोप लगाएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लोकतन्त्र सिकाउन खोज्ने कांग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो ? भन्दै प्रश्न समेत गरे । उनले कांग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भए पनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए ।

उनले देशको नेतृत्व गर्न नपाउने छटपटिमा कांग्रेसका युवा नेताहरु तड्पिएको बताए । उनले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न कांग्रेसलाई आग्रह गरे । उनले कांग्रेसले हामी बोली रहन्छौँ, तँ सुनिराख, तर बोल्न पाउँदैनस् भन्ने ध्येयका साथ आरोप लगाइरहेको बताए ।

उनले भने, ‘हामीलाई उहाँहरुले लोकतन्त्र सिकाउनु हुन्छ, अझ युवाले । उहाँहरुलाई के थियो भने एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ । तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटि भएको छ । अचम्म लाग्छ । जनताले त भोट हालिहाल्छ नि तपाईले राम्रो काम गर्नुभयो भने ।’ अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक-दुई लाख रुपैयाँसम्म दिने बताए ।

उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी गरे । उनले भने, ‘रास्वपको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला । मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइ दिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें । मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थें । मै ठगिएको छु ।’ श्रममन्त्री अर्यालले कुनै पनि दिन देशको कानूनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको बताए ।

उनले केही गर्छु देशका लागि भनेर आउनेलाई कस्टडीमा राख्दै जाने हो भने नुवाकोटको जेल छिटै उद्घाटन हुँदै गरेको र जेल भर्ने लक्ष्यका साथ आरोप लगाइएको हो भने आफूहरु गएर बस्न तयार रहेको बताए । उनले देशमा जेलमा नबसेको मानिसले राजनीति गर्न हुँदैन भन्ने नेपाली काँग्रेसको बुझाइ हो भने जेलमा गएर बस्न स्वीकार रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७