खलंगामा पूर्वराजाको सम्बोधन : नयाँ सम्झौता र सर्वपक्षीय सम्मेलनको पक्षमा जनमत बढ्दो छ


२४ चैत्र २०८०, शनिबार
Gyanendra Shah

जुम्ला । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा नयाँ सम्झौताको आवश्यकता भएको भन्दै सर्वपक्षीय सम्मेलनको माग गरेका छन् । जुम्लाको खलङ्गा पुगेका पूर्व राजा ज्ञानेन्द्रले नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढेको दाबी पनि गरे ।

‘आज, हिजो होइन हामी आफै बदलिरहेका छौं । परिवर्तन साँच्चै पीडादायी भए पनि सधैं आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधैं आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन’, पूर्व राजा शाहले भने, ‘अब सुध्रौं, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौं, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’

दार्चुला–तुला–ताक्लाकोटसम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र खेतिपाती, भेडा, चौँरी र घोडा पालनका हिसाबले महत्वपूर्ण रहेको उनले बताए । कालो मार्सी धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पति जन्य जडीबुटी जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू रहेको उनको भनाइ छ ।

‘कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ हामी यहाँका बासिन्दा अत्यन्तै सहृदयी, अत्यन्त कर्मनिष्ठ र परस्परमा अत्यन्त आत्मीय छौं । आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठूलो बल हो’, उनले भनेका छन्, ‘अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरवप्रति आस्था नै हाम्रो ठूलो पुँजी हो । कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७