रास्वपालाई सांसद पौडेलको प्रश्न : निर्दोष भए छानबिन समिति बनाउन किन अफ्ठ्यारो ?


२६ चैत्र २०८०, सोमबार
Pradeep Paudel
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने मागबाट कांग्रेस पछि नहटेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे । उनले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नभएको भन्दै प्रश्न समेत गरेका छन् ।

पौडेलले भने, ‘दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? कुनै पनि घटना विशेषको सत्यतथ्य खोजिनु पर्छ । प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने हुँदैन । तर आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको हो ।’ सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगिकार गर्नुपर्ने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको उल्लेख गरे ।

कांग्रेस नेता पौडेलले भने, ‘कुनै पनि घटना विशेषको तथ्यसत्य के हो भन्ने खोजिनु पर्छ । आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगिकार गरेको हुनुपर्छ । प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन ।’ सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७