राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले गरे उम्मेदवारी दर्ता


२७ चैत्र २०८०, मंगलवार
Rastriya sabha upa

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदमा सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन् । संसद भवन बानेश्वरमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएकी हुन् । घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ । यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दाबी छाडेको छैन ।

bimala ghimire 1

त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ । यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो ।

यस्तै राष्ट्रियसभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दिएकी छन् । उनले आज उमेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गत माघमा राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । महिला क्लस्टरका सात जनामध्ये वागमती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् । संघीय संसद् सचिवालयले उनको उम्मेदवारी दर्ता गराएको हो । २०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् ।

Congress Umedar 1712644443

२०४९ सालमा उनी काठमाडौंको तत्कालीन भद्रवास गाविसको अध्यक्षमा पनि निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्। ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७