रोकिएको सेवा–सुविधा र वैठकमा सहभागी गराउन माग गर्दै टेकबहादुर गुरुङले दिए निवेदन


२८ चैत्र २०८०, बुधबार
Tek Bahadur Gurung 1

काठमाडौं । मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङले रोकिएको सेवा सुविधा र प्रतिनिधि सभा बैठकमा सहभागी गराउन माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

गुरूङले रोकिएको सेवा सुविधा र वैठकमा सहभागिताको माग गर्दै सचिवालयमा पत्र दर्ता गराएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् । काठमाडौंको फनपार्कस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा उनले भ्रष्टाचार गरेको आरोप लागेपछि उनी २०७९ पुस ८ गतेदेखि निलम्बित छन् । उनले सांसद पदको शपथ लिए पनि बैठकमा सहभागिता जनाउन पाएका थिएनन् । निलम्बित गुरूङलाई विशेष अदालतले उक्त मुद्दामा भ्रष्टाचारी ठहर गर्दै जरिवना गरेको थियो । तर उनलाई कैद तोकिएको थिएन ।

भ्रष्टाचारी ठहर भएपछि संसद प्रवेश गर्न नपाएका गुरूङले संघीय संसद सचिवालयलाई विपक्षी बनाउँदै मुद्दा हालेका थिए । उनको मुद्दामा सर्वोच्च अदालतले २०८० चैत १६ गते निलम्बन खारेजीको निर्णय दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासबाट आएको उक्त फैसलाको प्रति अझै संघीय संसद सचिवालयमा पुगेको छैन । तर सांसद गुरूङले सर्वोच्चको फैसला पुग्नुअघि नै बैठकमा सहभागिता र सेवा सुविधा दिन निवेदन दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७