रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तान कराँचीमा १९ जनाको ज्यान गयो


१ बैशाख २०८१, शनिबार

काठमाडौं । रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा लुटपाटको प्रतिरोध गर्दा १९ जनाको ज्यान जानुका साथै ५५ जना घाइते भएका छन् । लुटपाटको प्रयासमा कराँचीमा १९ जना नागरिकको ज्यान जानुमा सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका पाकिस्तानको एआरवाई न्युजले जनाएको छ ।

यस वर्षको अहिलेसम्ममा कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको ज्यान जानुका साथै दुई सय जनाभन्दा बढी घाइते भएका खबरमा उल्लेख छ । नागरिक–प्रहरी सम्पर्क समिति (सीपीएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको छ ।

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताएको एआरवाई न्युजले जनाएको छ । उनले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा झण्डै चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक मनसाय भएका व्यक्ति भेला हुने गरेका जानकारी दिए । कराँची शहरमा दैनिक एक सय ६६ अपराधका घटना हुने गरेको र यो संख्या पाकिस्तानका अन्य प्रमुख शहरहरूको तुलनामा कम रहेको प्रहरीले बताएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७