इजरायलमाथि इरानले सुरु गर्‍यो ड्रोन आक्रमण, प्रत्याक्रमणको तयारीमा इजरायल


२ बैशाख २०८१, आईतवार
iran isreal

काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ ।

इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ । स्थानीय समयअनुसार रातको पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएका र ठूलो विष्फोट हुँदा शहरभरी उज्यालो देखिएको बीबीसीले जनाएको छ ।

इरानले प्रहार गरेको ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गर्दा विष्फोट भएको बीबीसीको खबरमा उल्लेख छ । त्यसअघि इरानले इजरायलतर्फ प्रहार गरेका केही ड्रोन अमेरिकी सेनाले रोकिदिएको सीबीएस न्यूजले जनाएको छ । यही अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि रिसाएको इरानले इजरायलमाथी आक्रमण शुरु गरेको बीबीसीले जनाएको छ ।

इजरायल–हमास युद्धको बेला इरान–इजरायल प्रत्यक्ष टकराव नभएपनि दमास्कस घटनापछि दुई देशबीच समस्या बढेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले अहिले आफूहरु प्रतिरक्षामा रहेको र प्रत्याक्रमणबारेमा चाँडै निर्णय गर्ने बताएको बीबीसीले जनाएको छ ।

इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढेको छ । यसअघि इजरायल–हमास युद्धका क्रममा मध्यपूर्वमा युद्ध भड्किनबाट जोगिएको भए पनि इरानसँगको युद्ध फरक हुने अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानलाई इजरायलमाथि आक्रमण नगर्न चेतावनी दिँदै इरानले इजरायलमा आक्रमण गरेमा आफूहरु चुप नबस्ने र इरानको हार निश्चित हुने चेतावनी दिएका थिए । अमेरिकाले आफ्नो युद्धपोतलाई मध्यपूर्वमा सक्रिय बनाएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७