लुम्बिनीमा सरकार विस्तार गरिंदै : सहमति पालना नभए नेकपा एस र जसपा सामेल नहुने

आज क–कसले लिंदैछन् मन्त्रीको शपथ ?


६ बैशाख २०८१, बिहीबार
Jokha bahadur mahara

बुटवल । लुम्बिनी प्रदेशमा आज (बिहीबार) सरकार विस्तार हुने भएको छ । चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।

सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी गरेका हुन् । भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय पाउने भएका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने अझै नटुंगिएको बताइएको छ ।

तीन सांसद रहेको जसपालाई दुई मन्त्री दिने सहमति माओवादीले गरे पनि पछि चार सांसद रहेको नाउपा सरकारमा आएपछि जसपालाई कटौती गरेर नाउपालाई दिइएको छ । जसपा प्रदेश अध्यक्ष अशोक यादवले सरकारले सहमति पालना नगरेकाले आफूहरू सरकारबाट बाहिरिन सक्ने चेतावनी दिए । ‘हामीले सहमतिबमोजिम मन्त्रालय नपाएपछि बस्ने कुरा हुँदैन’ उनले भने ।

चैत २३ मा महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक÷एक जना मन्त्री बनाइसकेका छन् । अब बाँकीलाई मन्त्रीमा सहभागी गराएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । लुम्बिनी प्रदेश सरकारमा एमालेले दल उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सहभागिता जनाउने छ । आचार्य मन्त्री बनिसकेका छन् । उनको जिम्मेवारी तोकिएको छैन । तर, आचार्यले अर्थ मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी पाउने छन् ।

एमालेबाट अब सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्रीको रूपमा पठाउने गरी नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ । ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने देखिएको छ ।

माओवादीबाट सरकारमा दीपेन्द्र पुन मन्त्री बनिसकेका छन्। माओवादीबाट थप एक जना कृष्णा केसी मन्त्री बन्ने छिन् । पुनले स्वास्थ्य र केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ । जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने बारेमा छलफल चलिरहेको छ। स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री बन्दैछन् । उनले पर्यटन, उद्योग र सहकारी मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ । आज यसअघि मन्त्री बनेका आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि मन्त्रालय दिने र अरूलाई बिना विभागीय मन्त्री बनाउने तयारी मुख्यमन्त्रीले गरेका छन् ।

यसरी मन्त्रालयको भागबन्डा गर्दा लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो ।

तर, यो सहमतिअनुसार तत्काल नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी नहुने भएपछि उसले पनि असन्तुष्ट जनाएको छ । ‘सरकारमा सहभागी हुनेबारे छलफल नगरिएको ‘नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले जनाएका छन् । नेकपा एस र जसपाले असन्तुष्टि जनाएर सरकारमा नबसे सरकालाई बहुमतको अर्को संकट आइलाग्ने छ ।

यसअघि प्रदेशमा रहेका विषयगत समितिमा पनि एमाले, माओवादीले साना दललाई सल्लाह नगरी टुंगाएको आरोप उनीहरूको छ । कमजोर जगमा बनेको सरकारमा साना दल असन्तुष्टि बन्दा सरकारको भविष्यलाई चुनौती थपिने छ । ८७ सदस्य प्रदेश सभामा ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ । सरकारमा एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र १ स्वतन्त्र सांसदहरूले समर्थन जनाएका छन् ।

बिहीबार मुख्यमन्त्रीले सरकार बिस्तारको तयारी गर्न थाले पनि जसपा, नागरिक उन्मुक्ति र नेकपा एसको संयुक्त बैठक बसेर सहमति पालना नभए सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने गरी शुक्रवार बसेर निर्णय लिने दाबी जसपा प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए । यी तीन दलले समर्थन फिर्ता लिएर सरकारलाई संकट पुग्ने निश्चित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७