मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा पत्रकार यादवको मृत्यु, एक जना गम्भीर घाइते


११ बैशाख २०८१, मंगलवार
Binaya yadav

धनुषा । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । गए राति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिलिला नगरपालिका– ६ मा यादव आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवालेले जानकारी दिए ।

‘गए राति करिब ३ बजे यादव आफैले चलाएका मधेश प्रदेश ०२– ००६ नम्बरको मोटरसाइकल ढल्केवरबाट जनकपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो,’ डीएसपी अवालेले भने, ‘प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएको थियो । उपचारकै क्रममा मंगलबार बिहान पौने ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।’

२८ वर्षीय यादवको घर धनुषाकै धनुषाधाम नगरपालिका– ५ मा पर्छ । उनी जनकपुरमा बसेर पत्रकारिता गर्थे । उनले एक वर्षअघि मात्रै विवाह गरेका थिए । उनी जनकपुरबाट सञ्चालन हुँदै आएको ई–न्यूज ब्यूरो डटकमका कार्यकारी सम्पादक थिए ।दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम– ५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते छन् । उनी मोटरसाइकलको पछाडि थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ढल्केवरमा राति साथीलाई भेटेर जनकपुर फर्किदैँ गर्दा यादवले चलाएको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटनमा परेको स्थानीयले बताएका छन् । यादवको शव शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी अवालेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७