सेटिङमा १५ हजारमै पाइन्छ सिरहामा ड्राइभिङ्ग लाइसेन्स !


१२ बैशाख २०८१, बुधबार
Lahan

– मुकेशकुमार यादब
सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ्ग लाइसेन्स) खरिद विक्री हुने गरेको पाइएको छ । कर्मचारीहरुले विचौलियामार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागि १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो ।

IMG 3804.jpeg

ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जति पटक परीक्षा र ट्रायलमा सहभागी भए पनि पास नहुने तर घुस वापत रकम बुझाएपछि सजिलै लाइसेन्स हातलाग्ने सेवाग्राहीहरु बताउँछन् । सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाइकलको लाइसेन्सका लागि ट्रायल दिए । तर, उनी एक पटक पनि पास हुन सकेन । तर, उनीसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे ।

यहाँ जुनसुकै गाडीको लाइसेन्स लिन घुस रकम विचौलियामार्फत बुझाए सजिलै लाइसेन्स पाइने ती युवकले बताए । उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाईरहेको छु, लिखित पहिलो पटकमै पास गरें । तर, तीन पटक ट्रायल दिँंदा पनि पास हुन सकिएन । घुस नदिई लाइसेन्स लिउँ भनेको मुस्किल रहेछ ।’

IMG 3792.jpeg

‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ । पासै हुन सकिएन । अब त्यसै एक वर्ष पछाडि परियो ।’ उलने थपे, ‘अर्काे पटक घुस दिएरै भए पनि पास गर्नुपर्ने अवस्था आयो ।’ सिरहा धनगढीमाईका रमेश यादव (परिवर्तित नाम) पाँच वर्षदेखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन् । तर, उनीसँग ड्राइभिङ लाइसेन्स थिएन । उनी लेखपढ समेत जाँन्दैनन् तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाइसेन्स लिए ।

उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जाँन्दिन । पैसा नदिई लाइसेन्स पाइँदैन भन्ने सबै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय बाहिरै विचौलियासँग अवैध रकम बुझाएर लाइसेन्स लिएँ ।’ ट्याक्टर, म्याजिक र विङ्गर चालक मात्र हैन यहाँबाट लाइसेन्स लिने धेरैले रकम तिरेर र भनसुनको भरमा मात्र लाइसेन्स पाउने गरेको एक विचौलियाले बताए । ती बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाइसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ । त्यहि अनुसार सेटिङ्गमा काम हुने हो ।’

यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुसेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माग्ने गरेको भन्ने मलाई जानकारी छैन । भएको भए मलाई जानकारी गराउनुस् तुरुन्त कारवाही गर्छु ।’ उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिने मात्र हो, बाँकी काम यातायत कार्यलयले गर्ने भएकाले हाम्रो खासै भूमिका पनि हुँदैन । सिरहामा विना विचौलियाको लाइसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरीक्षक पुरीले केहि सुनिएन भनि फोन काटे ।

IMG 3805.jpeg

यातायात र ट्राफिक प्रहरीले लाइसेन्स वापत अवैध रुपमा उठाएको रकम जिल्ला, प्रदेश र विभागसम्म बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरुको मिलोमतोमा विचौलिया खडा गरेको हुन्छ, लाइसेन्सको लिखित सकिएर ट्रायल सकिने दिन नै अवैध असुली गरेको रकम वाँडफाँड गर्ने गरेको बताए । ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले विचौलिया खडा गरी खुल्लेआम रुपमा ड्राइभिङ लाइसेन्स विक्री वितरण गरिरहेको सेवाग्राहीहरु बताउँछन् । ड्राइभिङ लाइसेन्स लिन विचौलियासँग सेटिङ नमिले लाइसेन्स नपाइने सेवाग्राहीहरुको भनाई छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७