ओलीले दिए तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक जिम्मेवारी
काठमाडौं, ५ असार । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणमा निस्कनु अघि तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको जिम्मेवारी सुम्पिएका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि पत्नी सीताको उपचारका लागि सिङ्गापुर गएका कारण ओलीले तीन नेतालाई फरक–फरक जिम्मेवारी दिएका हुन् ।
ओलीले चीन उड्नुअघि नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् । अर्का अध्यक्ष प्रचण्ड नभएकाले पार्टीमा ओली र प्रचण्डपछि तेस्रो बरियतामा रहेका बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।
२०६४ सालको निर्वाचनमा पार्टीको पराजयपछि महासचिव पदबाट राजीनामा दिएका नेपालले त्यसपछि पार्टी प्रमुखको जिम्मेवारी सम्हालेको यो पहिलो हो । उनी १४ वर्ष नेकपा एमालेको नेतृत्व गरेपछि बरिष्ठ नेताको हैसियतमा थिए । यसबीचमा झलनाथ खनाल र केपी ओली अध्यक्ष भएका बेला कार्यवाहक जिम्मेवारी बामदेव गौतम र अशोक राईले पाउने गरेका थिए ।
ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री पोखरेल यसअघि ओली भारत भ्रमणमा जाँदा पनि कार्यवाहक प्रधानमन्त्री थिए ।
महासचिव पौडेलका अनुसार नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिइएको छ ।
संयोग नै मान्नुपर्छ ओली हिंड्दा कार्यवाहक पाउने तीनै जना नेता तत्कालीन एमालेका छन् । कार्यवाहक अध्यक्ष नेपालले दुवै अध्यक्ष नभएको बेला पार्टी सञ्चालनको नेतृत्व गर्नेछन् भने कार्यवाहक प्रधानमन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितमा सरकार सन्चालन गर्नेछन् । संसदीय दलका कार्यवाहक नेता नेम्वाङले संसदीय फाँटका गतिबिधि सम्हाल्ने छन् ।