ऊर्जामन्त्रीलाई सांसदको प्रश्न– भारतसँग गर्ने भनिएको पावर बैंक सम्झौता खै ?

काठमाडौं, १३ असार । विद्युत् जम्मा गर्ने ‘पावर बैंक’ बारे संसदले उर्जामन्त्रीसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजित बजेटका क्रममा सांसद विमल श्रीवास्तबले उर्जा मन्त्री वर्षमान पुनसँग पावर बैंकको जानकारी दिन माग गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विद्युत जम्मा गर्न मिल्ने पावर बैंकको चर्चा भएको तर अहिलेसम्म सदनलाई कुनै जानकारी नभएको भन्दै श्रीवास्तवले जानकारीको माग गरे ।
उक्त विषय बारे उर्जा मन्त्री वर्षमान पुनले पावर बैंकको बारेमा छलफल जारी रहेको बताए ।

‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणको क्रममा यसको कुरा उठेको हो । भारतले कन्सेप्ट पेपर मागेको थियो । हामीले दिएर एक पटक छलफल समेतभएको छ,’ मन्त्री पुनले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि वर्षा याममा हामीलाई विद्युत बढी हुन्छ । त्यसलाई भारतलाई दिने र हामीलाई कम भएको बेला लिने काम पावर बैंकबाट हुन्छ । शुरुका दिनमा यसले काम गर्छ। पछि हामीसँग बढी भएको विद्युत् भारतलाई दिन्छौं ।’
त्यसैगरी उर्जा मन्त्री पुनले सरकारको बजेट अन्तर्राष्ट्रिय स्ट्याण्डरको भएको दाबी गरेका छन् । जसअनुसार लैंगिक मैत्री बजेटको विषयमा छुटाछुटै कुरा नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्