आइजीपी सर्वेन्द्र खनालले भने, ‘म सुतेको छैन’


१४ असार २०७५, बिहीबार
sarbendra

काठमाढौं, १४ असार । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बेथितिमा रहेको प्रहरी संगठन सुधार्न र जनताको भरपर्दो संगठन बनाउन आफू दिन–रात खटिरहेको बताएका छन् ।sarbendra

आईजीपी भएपछि खनालले बिहीबार पहिलो पटक प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरी देश र जनताको पक्षमा निरन्तर प्रतिबद्ध रहेको बताएका हुन् । मुलुकका विभिन्न स्थानमा प्रहरीले गरेका सकारात्मक कामको उदाहरण दिंदै खनालले प्रहरी संगठनमा लामो समयदेखि रोकिएको सरुवा–बढुवा गर्न आफू सफल भएको बताएका छन् । खनालले नेपाल प्रहरीलाई समयसापेक्ष परिमार्जन र सुधार गर्दै लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफूलाई काम नगर्ने भनेर सञ्चारमाध्यममा आएका समाचारप्रति गुनासो गर्दै भने, ‘राम्रो गर्दागर्दै आईजीपी सुतेको छ भन्ने ? नकारात्मक धारणाको विकास नगरौं ।’
आईजीपी खनालले गुण्डागर्दीमा संग्लन व्यक्ति वा गिरोह र कुनै पनि अपराधमा लागेकाविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुने बताएका छन् । आईजीपी खनालले आफ्नो कामलाई तीन तहमा विभाजन गर्दै शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेको जानकारी पनि दिए ।

सुनकाण्डमा मुछिएका प्रहरी अधिकारीबारे अदालतमा मुद्दा चलिरहेको र सरकारको विशेष अनुसन्धान टोलीले अनुसन्धान गरिरहेकाले त्यसबारे टिप्पणी नगर्ने उनले बताए । प्रहरी संगठनलाई पनि संघीयताअनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई प्राथमिकतामा राखेको खनालको भनाइ छ । सरकारका हरेक काममा प्रहरी पहिलो मोर्चामा भएको बताउँदै उनले प्रहरीभित्रका कमी कमजोरीलाई पनि सुधार गर्दै अघि बढिरहेको जिकिर गरे । ‘प्रहरी संगठनमा राम्रो गर्ने पुरस्कृत हुन्छन्, नराम्रो गर्नेहरु सजायको हकदार हुन्छन् । यो कुरा कडाइका साथ लागू हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७