कांग्रेसमा ओलीसँग प्रतिस्पर्धा गर्न कोही पनि तयार भएनन्


१५ कार्तिक २०७४, बुधबार
KP sharma oli

झापा : झापा क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली उम्मेदवार बन्दै छन् । तर, कांग्रेसले अझै उनका प्रतिस्पर्धी उम्मेदवार छान्न सकेको छैन । अध्यक्ष ओलीसँग कांग्रेस नेताहरु केही पनि प्रतिस्पर्धा गर्न तयार नभएपछि कांग्रेसलाई सकस भएको हो । युवा नेता विश्वप्रकाश शर्माले ओलीसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका थिए । तर, उनी झापा क्षेत्र नं. १ मा जाने भएका छन् । उनले चर्चाका लागि मात्रै उम्मेदवारी घोषणा गरेको कांग्रेसका नेताहरु नै बताउछन् । यसअघि वाम गठबन्धनबाट झापा.१ मा माओवादीका राम कार्की उठ्ने टुंगो लागिसकेको छ ।

KP sharma oli

झापा–५ बाट कांग्रेस नेता केशवकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस गरिएको छ । कांग्रेसका एक नेताका अनुसार कांग्रेसले महाधिवेशन प्रतिनिधि राजन ढुंगानालाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । ओलीसँग प्रतिस्पर्धा गर्न बुढाथोकी आउन सक्ने सम्भावना पनि छ । बुढाथोकी दोस्रो संविधानसभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित भएका थिए । उनी निर्वाचित क्षेत्र हाल क्षेत्र नम्बर ४ मा पर्छ ।

राप्रपाले भने केन्द्रीय सदस्य लक्ष्मी संग्रौलाको नाम झापा–५ बाट सिफारिस गरेको छ । तर, पछिल्लो निर्णयअनुसार राप्रपाले झापा–३ बाहेकका अन्य क्षेत्रमा वाम गठबन्धनलाई सघाउने भएको छ । यस क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ र गौरादह नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ पर्छ ।

स्थानीय तहमा यस्तो छ नतिजा
गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकामा कांग्रेससँग मतबराबर भएपछि एमाले गोला तानेर विजयी भएको थियो । गौरीगन्ज गाउँपालिकामा भने राप्रपा विजयी भएको थियो । हाल झापा–५ मा परेको गौरीगन्ज–३ र ६ मा कांग्रेस, ४ मा माओवादी केन्द्र र ५ मा एमाले विजयी भएको थियो । गौरादहमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । गौरादह–१, ३, ४, ५, ७ र ८ मा एमाले तथा २ र ६ मा कांग्रेस विजयी भएको थियो ।

स्थानीय तहको निर्वाचनमा एमालेले सहजै जित निकालेको दमक नगरपालिकामा मात्रै हो । दमक नगरपालिकामा एमाले भारी मतले विजयी भएको थियो । दमक–१ र सातबाहेक अन्य आठवटै वडामा एमालेले जितेको थियो । दमकमा तेस्रो भएको माओवादी पनि वाम गठबन्धनमा भएकाले ओलीले सहजै बाजी मार्ने गठबन्धनका नेता बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७