मन्त्रीको स्वकीय सचिव छाडेर पार्टी संगठनमा आलम

काठमाडौं, १९ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव वसिम आलम हालको जिम्मेवारी छाडेका पार्टी संगठनमा लागेका छन् ।
अनेरास्ववियुका केन्द्रिय सचिव तथा मोरङ एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका आलमले पार्टी तथा संगठनको कामका लागि स्वकीय सचिवको जिम्मेवारी त्यागेको जानकारी दिएका छन् ।
सोमबार मन्त्री लालबाबु पण्डितले मन्त्रालयमै आलमलाई विदाई गरेर यसअघि स्वकीय अधिकृत रहेका मनोज राईलाई स्वकीय सचिव नियुक्त गरेका हुन् । मन्त्री पण्डितले जिल्लामा पार्टी काम, क्षेत्रको विकास निर्माणमा समन्वय तथा अनेरास्ववियुको जिम्मेवारी समेत वहन गर्ने गरी आलमलाई पठाइएको जानकारी दिएका छन् ।
आलमले पनि जिल्लाको विकास निर्माणमा समन्वय तथा पार्टी र संगठनको कामका लागि आफूले स्वकीय सचिवको जिम्मेवारी छाडेको बताए । पण्डित यसअघि सामान्य प्रशासन मन्त्री हुँदा पनि आलम स्वकीय सचिव थिए । उनी मोरङको राजनीतिक वृतमा परिचित युवा राजनीतिज्ञ हुन् ।