गरीब परिचय–पत्र वितरण गरिने, गोरखाका १२ हजार ४४ घरबाट अभियान थाल्दै सरकार

गोरखा, २२ असार । सरकारले गोरखाबाट गरीब परिचय–पत्र वितरण अभियानको थालनी गर्ने भएको छ । गोरखाका १२ हजार ४४ घर परिवारलाई गरीब परिचय–पत्र दिइने भएको छ । गरीब घर परिवार पहिचानका लागि २०७० वैशाखदेखि असोजसम्म तथ्याङ्क संकलन भएको थियो ।
सरकारले तीन महिनाभित्र सबै गरीब घर परिवारलाई गरीब परिचय–पत्र प्रदान गरिसक्ने लक्ष्य लिएको छ । तथ्याङ्क संकलनको पाँच वर्षपछि परिचय–पत्र वितरणको तयारी थालिएको हो । आय–व्यय विवरण, परिवारिक स्थिति, शैक्षिकस्तर, शौचालयको अवस्था, जनसांख्यिक विवरण, घरको बनोट, पेसा र जीविकोपार्जनलगायतका सूचकाङ्कलाई आधार मानेर गरीब घर परिवार पहिचान गरिएको जिल्ला समन्यव समितिले जनाएको छ ।
५९ हजार ६१ परिवारको तथ्याङ्क संकलन भएकोमा १२ हजार ४४ मात्र परिचयपत्र पाउनयोग्य देखिएको जिससका समन्वय अधिकारी नारायण आचार्यले बताएका छन् । ४७ हजार १७ जनाको नाम भने गैरगरीब सूचीमा परेका छन् । ५ हजार ८ सय ३३ घर परिवारले अति गरीब, ३ हजार ७ सय १७ ले मध्य र २ हजार ४ सय ९४ लाई सामान्य गरीबको परिचयपत्र वितरण गरिने आचार्यले जानकारी दिएका छन् ।
अति गरीबलाई रातो, मध्यमलाई पहेंलो र सामान्यलाई नीलो कार्ड दिइने उनले बताए । जिल्लामा २८.६ प्रतिशत गरिबीको दर रहेको तथ्याङ्कमा उल्लेख छ । ‘हालसम्म गरीब लक्षित कार्यक्रम ठोस आधार बिनै सञ्चालन भएको थियो,’ समन्वय अधिकारी आचार्यले भने, ‘परिचयपत्र वितरण भएपछि लक्षित वर्गको कार्यक्रम निश्चित ठाउँमा गर्न पाइयो ।’ परिचयपत्र वितरणको जिम्मा स्थानीय तहलाई दिइएको उनले बताएका छन् । ‘औंठा छाप लिएर बुझेको प्रमाणसहित र घरमूलीको फोटो लिएर परिचयपत्र बाँड्छौं,’ उनले भने, ‘तीन महिनाभित्र परिचयपत्र वितरण सक्ने लक्ष्य लिइएको छ ।’