योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्छु : प्रचण्ड

काठमाडौँ, २२ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नेका लागि पहल गर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले योगमाया न्यौपाने सामाजिक र सांस्कृतिक जागरणप्रति समर्पित एक अभियन्ता भएको बताउदै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्ने वचनबद्धता जनाएका हुन् ।
योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले योगमाया नेपाली समाज रुपान्तरणमा गरेको योगदानको चर्चा गरे । उनले वर्तमान सरकार सामन्तवाद र निरङ्कुशतन्त्रले गाढेका अवशेषलाई पन्छाएर सामाजिक रुपान्तरणका लागि अघि बढ्ने बताए ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले योगमायाका नाममा आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्ने र उहाँलाई राष्ट्रिय विभूति घोषण गर्नुपर्ने बताए । मुख्यमन्त्री राईले योगमाया क्रान्तिका माध्यमबाट महिला हिंसा, जातीय विभेद र निरङ्कुशताविरुद्ध आवाज बुलन्द आवाज गर्दै गाउँबेंसी ब्यूँझाउने साहसी महिला भएको बताए । कार्यक्रममा पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले योगमायाको योगदान न्याय र सत्यका अनुयायीका लागि प्रेरक भएको विचार प्रकट गरिन् ।
सांसद पम्फा भुसालले योगमायाले समाज रुपान्तरणमा गरेको योगदानलाई अहिलेका नारीवादीले भुल्न नहुने बताइन् ।
त्यसैगरी, सांसद डा डिला सङ्ग्रौलाले लोकतन्त्र र सुशासनका लागि योगमाया र उनका अनुयायीले गरेको त्याग र बलिदान अनुकरणीय रहेको बताइन् । कार्यक्रम संयोजक नेकपाका नेतृ जयन्ती राईले योगमायाको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिनुपर्ने बताइन् ।
अभिजात्य वर्गीय सोच र मान्यता, पितृसत्तात्मक समाज र सांस्कृतिक विकृति तथा निरङ्कुश जहानियाँ शासनविरुद्ध साहित्यिक धारमार्फत सामाजिक विद्रोहमा उत्रिएकी संघर्षशील नारी हुन् योगमाया ।
योगमायाले जुद्धशम्शेरलाई २६ बुँदे मागपत्र बुझाएर समाज परिवर्तन गर्न आग्रह गरेकी थिइन् । तर, त्यसप्रति केही काम भएको नपाएपछि १९९८ साल असार २२ गते आफ्ना ६७ अनुयायीसँगै भोजपुरको नेपालडाँडास्थित अरुण नदीमा जलसमाधि लिएकी थिइन् ।