डा. केसीका कारण टिचिङ अस्पतालले गुमाएको ४१ करोडको क्षतिपूर्ति कसले व्यहोर्ने ?
काठमाडौं, ४ साउन । अहिले डा. गोविन्द केसीको अनसनले देश तातेको छ । शुक्रबार जुम्लामा भएको झडपको कारक नै डा. गोविन्द केसी देखिए । सरकारले राज्यको दायित्व पूरा गर्दै डा. केसीको जीवनरक्षाको पहल गर्दा अवरोध सिर्जना भएपछि बल प्रयोग गर्नुपर्ने अवस्था सिजना भयो । केसीको जीवनरक्षाका लागि गरिएको ल प्रयोगका क्रममा एक प्रहरी जवान गम्भिर घाइते बने । केहि डाक्टर र विद्यार्थी समेत घाइते बने ।
राज्यले डा. केसीले उठाउँदै आएका माग अनसन नबसी छलफलबाटै समाधान गर्न सकिने बताइरहेका बेला अनसनबाटै सरकारलाई गलाउँछु भन्ने डा. केसीको अड्डीका कारण जुम्लामा दुर्भाग्यपूर्ण घटना हुन पुग्यो । टिचिङ अस्पतालका आडजोर्नी विशेषज्ञ डा. केसीले मागले पूरा नपाएसम्म अनसनलाई निरन्तरता र प्राथमिता देलान् । तर, उनको अनसनका कारण उपचार नपाइरहेका गरीब नागरिकले उपचारका लागि कहाँ जाने ? अनि उनका समर्थक डाक्टरहरु उसैगरी आन्दोलन गर्लान् । सेवा सुविधा ठप्प पार्लान् । निर्दोष बिरामीले उपचार नपाएर अकालमा ज्यान गुमाउँलान् ।
हालसम्म १८६ औं दिन अनसन बसेका डा. केसी २० दिन जुम्लामा बाहेक सबै दिन टिचिङ अस्पतालमा अनसन बसेका छन् । हिजोदेखि पुनः पूरानै स्थानमा अनसन बस्न शुरु गरेका छन्, अनिश्चितकालका लागि । डा. केसी अहिले १५ औँ अनसनको दौरानमा छन् । अहिले डा. केसी र अनसन एक अर्काको पर्याय जस्तै बनेका छन् भन्दा फरक नपर्ला । यो पटक पनि डा. केसीको एजेण्डाले पार नपाए के होला ? त्यो हेर्दै जाउँला । तर, महत्वपूर्ण कुरा डा. केसी आफ्ना समर्थकहरुको सहयोगमा अनसन बसिरहँदा डा. केसी कार्यरत अस्पताललाई कति घाटा र नोक्सानी भइरहेको छ ? यसबारे सोच्ने कि नसोच्ने ? अस्पतालका सेवा ठप्प पारेर आन्दोलन गरिरहँदा भइरहेको आर्थिक घाटाको जिम्मेवार को बन्ने भन्ने कुरा पनि अहिले चर्चाको विषय बनिरहेको छ ।
स्रोतका अनुसार प्रत्येक दिन टिचिङ अस्पिटलमा २५ लाखसम्मको कारोबार हुने गरेको छ । त्यसलाई आधार मानेर भन्ने हो भने अस्पतालले केसीको अनसनाट हालसम्म ४१ करोड २५ आर्थिक नोक्सानी व्यहोरी सकेको छ । अनसन बस्ने क्रम जारी रह्यो र डाक्टरहरुले समर्थन जनाउँदै काम बहिष्कार गरे अझै यो तथ्याङ्क बढ्ने निश्चित छ । डा. केसीको माग जायज भए पनि आन्दोलनको प्रकृति र समर्थकको शैलीले सर्वसाधरण नागरिकलाई समस्यामा पारिरहेको जानकार बताउँछन् ।
त्रिबि अन्तर्गतकै अस्पतालमा कार्यरत डाक्टरले सर्वसाधरणको जीवनसँगै खेलबाँड हुने गरी अस्पतालका सेवाहरु ठप्प बनाएर सडक तताउनु शोभनीय नहुने जानकार बताउँछन् । अहिले अन्यत्रको कुरा छाडौं डा. केसी कार्यरत अस्पतालमा संवेदनशिल विरामीहरुले समेत उपचार पाउन सकिरहेका छैनन् । जीवनको मूल्य बुझेका डा. केसीले आफ्नो आन्दोलनका कारण कतिको जीवन मृत्युको मुखमा पुगिरहेको छ भन्ने कुरा बुझाउन पक्कै पनि नपर्ला कि ?