अक्षर चिन्न थालेपछि आमाहरु दङ्ग, भन्छन्, ‘अक्षर नचिनेकाले पो अन्धकारमा रहेछौं त’


प्रकाशित मिति : August 10, 2018

बेनी, २५ साउन । बेनी नगरपालिका–८ क्याम्पस चोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् ।

बेनीको उज्यालो वैकल्पिक विद्यालयको कक्षामा आमाहरु । तस्विर : रासस

सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका कतिपय आमाहरुका लागि यो विद्यालय साक्षर बन्ने सपना पूरा गर्ने थलो बनेको छ । कक्षा–१ मा भर्ना भएर अध्ययन गरिरहेकी पुन अहिले खुशी छिन् ।

अक्षर र अंक समेत नचिन्दा विगतमा उनको दैनिकी असहज तवरले बितेको थियो । विद्यालयमा पढ्न थालेपछि विस्तारै उनी अंक र अक्षर पढ्न सक्ने भइन् र अहिले खुशी छिन् ।
उनले भनिन्, ‘सानो हुँदा विद्यालय कस्तो हुन्छ र शिक्षा के हो भन्ने पत्तै भएन । घाँस र दाउरा गर्दागर्दै विवाह भयो । बालबच्चा भए । आफूले नपढे पनि उनीहरुलाई पढ भनेर गाली गरियो । बल्ल यो उमेरमा आएर मेरो पढ्ने धोको पूरा भयो ।’ यस विद्यालयमा अहिले ७५ जना आमाले अध्ययन गरिरहेका छन् ।

घाँस, दाउरा र भान्सामा सीमित महिलाहरु बाल्यकालमा विविध कारण अध्ययनबाट वञ्चित भए पनि यतिबेला कापी र कलम बोकेर विद्यालय पुग्न थालेका छन् । पढ्ने रहर हुँदाहुँदै पनि अवसर नपाएका उनीहरु शिक्षा लिन उमेर हैन इच्छाशक्ति चाहिँदो रहेछ भन्ने उक्तिलाई पच्छ्याइरहेका छन् । उज्यालो वैकल्पिक विद्यालय स्थापनादेखि नै पढाइ शुरु गरेकी रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई २०५३ सालदेखि बसाइँ सरेर सदरमुकाम बेनीको कालीपुलमा बस्दै आएकी ५५ वर्षीया भुनु तिलिजाले पनि पढ्न शुरु गरेकी छिन् । पढ्न थालेपछि जीवनमा धेरै परिवर्तन आएको अनुभूति उनले गरेकी छिन् ।

आमा समूह, विभिन्न संघसंस्था, उपभोक्ता समितिलगायतमा क्रियाशील रहेकी तिलिजाले सानो छँदा अध्ययन गर्ने अवसर पाएनन् । वैकल्पिक विद्यालय खुलेसँगै साक्षर बन्ने अवसर पाएको उनी बताउँछिन् । ‘सानो छँदा विद्यालय नगइकन घरमा बुवा आमालाई घाँस दाउरा र भान्सामा काम गरेर खुशी बनाइयो, विभिन्न संघसंस्थामा लागेपछि भने ठक्कर लाग्यो’, उनले भनिन्, ‘अनि हामीहरु जस्तै निरक्षरहरुले पढ्ने विद्यालय खोल्नेबारे छलफल चलायौं । विद्यालय पनि खुल्यो । अहिले ८ कक्षामा पढ्दै छु ।’ यो उमेरमा आएर पढ्ने रहर साकार भएकामा उनी मख्ख छिन् ।

विसं २०७२ मा प्रौढ महिलालाई लक्ष्य गरी बेनीमा सञ्चालन गरिएको यस विद्यालयमा सानो छँदा बाध्यता र विवशताले पढ्ने रहर अधुरै भएका आमाहरु अध्ययनका लागि आउने गरेका छन् । विद्यालयमा अध्ययन गर्ने महिला बिहान घरको काम भ्याएर छोराछोरीलाई विद्यालय पठाउँछन् र आफूहरु ११ बजे विद्यालयमा हाजिर हुन्छन् । दिउँसोको समयलाई अध्ययनमा उपयोग गर्ने गरेका उनीहरुमध्ये कतिपय दूधे बालबच्चालाई काखैमा च्यापेर समेत विद्यालय आउँछन् ।

कक्षा ३ मा पढिरहेकी बेनी निवासी ५६ वर्षीया हेमकुमारी रेग्मीले बूढेसकालमा नाति नातिनाका दाैंतरीहरुसँग पढ्न पाउँदा बाल्यकालका रहरहरु पूरा हुँदै गएको अनुभव सुनाइन् । नबिराई विद्यालय जाने र शिक्षकहरुले दिएको गृहकार्य गर्ने बानीले लेखपढमा रुची जागेको अध्ययनरत आमाहरु बताउँछन् । कक्षा १, ३, ५, ७, ८ कक्षाको पठनपाठन हुने यस विद्यालयमा अधिकांश विद्यार्थी ४० वर्षदेखि ६० वर्ष उमेरका छन् । कक्षा १ मा ५ जना, ३ मा ११ जना, ५ मा २२ जना, ७ मा २१ र ८ मा १५ जना आमा यहाँ पढिरहेका छन् । आमाहरुलाई पढाउने शिक्षक सञ्जय शर्मा भन्छन्, ‘आमाहरु नियमित रुपमा विद्यालय आउँछन् । दिएको गृहकार्य बोकेर आउँछन् । वास्तवमै उनीहरुको सिकाइ उपलब्धिपूर्ण छ ।’

आमाहरुलाई पढाउँदा शिक्षक भन्दा पनि छोराछोरीको जिम्मेवारी पूरा गरे जस्तो लाग्दो रहेछ उनलाई । उनी भन्छन्, ‘उनीहरुको लगन र मेहनत हेर्दा पढाइमा उमेर भन्दा पनि इच्छाशक्ति ठूलो रहेछ भन्ने महसुस हुन्छ ।’ आफ्नो दैनिकीलाई घरायसी काम र घाँस दाउरा गर्न मै बिताएर शिक्षा के हो भन्ने भेउसम्म नपाएका उनीहरुले विद्यालयमा आएर अंगे्रजी र नेपालीमा लेखपढ गर्न थालेपछि आफूहरुको जीवनको परिभाषा फेरिएको बताउन थालेका छन् । समाजमा पढ्ने धोको अधुरै रहेका महिलाहरुलाई साक्षर बनाउन खोलिएको यस विद्यालयमा ६ जना शिक्षक छन् । शिक्षकको तलब, घरभाडा लगायतका खर्च जिल्ला शिक्षा समन्वय एकाई र विभिन्न संघसस्थाको सहयोगमा जुटाउँदै आएको विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए ।

अध्यक्ष केसीले भने, ‘हामीले जे उद्देश्य राखेर विद्यालय सञ्चालन गरेका हौं त्यो आज सार्थक हुँदै गएको छ तर, अध्ययन गर्न आउनेहरुलाई सरल र सहज रुपमा पूर्वाधार तयार गरी सुविधा दिन भने सकिरहेका छैनौं ।’ पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था गरी गुणस्तरीय शिक्षा दिन आफूहरु प्रयास
रत रहेको पनि उनले बताए । तत्कालीन जिल्ला शिक्षा कार्यालयले यस विद्यालय सञ्चालनका लागि ३ लाख बजेट उपलब्ध गराएको थियो । अहिले बेनी नगरपालिका ७ र ८ नं वडाले यहाँको खर्च व्यवस्थापनमा सहयोग गर्दै आएको छ तर, त्यसले धान्न मुसिकल भइरहेको छ । अपुग खर्चलाई व्यवस्थापन समिति, सामाजिक संघसंस्था र दाताहरुको सहयोगबाट जुटाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्