अर्को युद्धमैदानको तयारी भन्दै अमेरिकीले गर्यो ‘अन्तरिक्ष सैन्य बल’ निर्माणको घोषणा  


२५ श्रावण २०७५, शुक्रबार
space army of america

एएफपी

वासिङटन, २५ साउन ।  अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्  । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने,  ‘अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिएको थियो । अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उनको भनाई छ ।

तर यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्दछ । सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन् ।

तर उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त हुनुहुन्छ, र यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ । यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ ।

‘हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,’ पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भने । 

“अमेरिकी अन्तरिक्ष सैन्यबल स्थापना गर्ने समय आइसकेको छ,” उनले भने । उनले अर्को पाँच वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकोल त्यसलाई पारित गर्न कङ्ग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसकेको पनि जानकारी दिए ।

पेन्सको भाषण सकिएलगत्तै ट्रम्पले ट्वीट गर्दैै भने,’स्पेश फोर्स अब गठन भयो ।’ अमेरिकी अन्तरिक्ष सैन्यबलको निर्माणले राष्ट्रिय सुरक्षामा अन्तरिक्षको भूमिकाको बदलिँदो यथार्थलाई प्रतिबिम्बित गरेको छ ।

सन् १९६२ मा राष्ट्रपति जोन एफ। केन्नेडीले अमेरिकाले चन्द्रमामा किन मानव पठाउँदैछ भन्ने बारेमा व्याख्यान दिँदै गर्दा उनले भनेका थिए , ‘आजसम्म अन्तरिक्षमा कुनै किसिमको विवाद, पक्षपात, राष्ट्रिय द्वन्द्व केही छैन ।’

तर ५६ वर्षपछि, आधुनिक युद्धकौशलका हरेक पक्षका बारेमा अन्तरिक्षले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अन्तरिक्ष केन्द्रमा उडिरहेका सेन्सर र भूउपग्रहको व्यापक सञ्जालकै भरमा धेरै सैनिक प्रविधिहरुले काम गरिरहेका छन् ।

पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्यबल आवश्यक रहेको बताउनुभयो जसले विपक्षी भूउपग्रीय क्षमतालाई निस्तेज बनाउन आक्रामक ढङ्गबाट काम गरिरहेका छन् ।

‘चीन र रसियाले अन्तरिक केन्द्रमा उच्च प्रविधियुक्त कृयाकलापहरु जारी राखेका छन् जसले हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित कृयाकलाप गर्न थालेको पाइएको छ । यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमै नयाँ खतरा निम्त्याउन थालिसकेको छ,’ पेन्सले भने।

अमेरिकाका अहिले कार्यरत सैनिक विभागहरु निम्न छन्, नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स ।

डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिनुभयो । हवाईबाट निर्वाचित सिनेटर ब्रायनले भने, ‘यो बिल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।’

पेन्सका अनुसार, अमेरिकी स्पेश कमान्डभित्र हालका कतिपय सैनिक विभागमा कार्यरत सैनिकलाई स्थानान्तरण गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७