त्रिवि शिक्षण अस्पताल कब्जा गर्ने रणनीतिमा डा.गोबिन्द केसी


३० श्रावण २०७५, बुधबार
Gobind KC

काठमाडौं, ३० साउन । अनसनपछि केही दिन आरममा बसेका डा. गोविन्द केसी फेरि सक्रिय भएका छन् । त्रिवि शिक्षण अस्पतालको निर्देशक नियुक्ती प्रक्रिया सुरु भएपछि डा.केसी सक्रिय भएका हुन् । डा.केसीले बुधबार निर्देशक नियुक्तीमा चलखेल भइरहेको भन्दै सर्च कमिटि नै खारेज गर्न माग गरेका छन् ।

Gobind KC
डा.गोबिन्द केसी

डा.केसीले उनकै भाषामा भ्रष्ट त्रिविका पदाधिकारीहरु कनिष्ठलाई निर्देशक बनाउने चलखेलमा लागेको आरोप लगाएका छन् । डा.केसीले भनेका छन्,‘यो अवस्थामा भ्रष्ट त्रिवि पदाधिकारीहरुको चलखेलमा परेर कनिष्ठ तथा पार्टी कार्यकर्ताहरुलाई पदाधिकारी नियुक्त गर्ने काम भयो भने त्यो हामीलाई स्वीकार्य हुने छैन किनकि यस्ता संवेदनशील संस्थाहरुलाई दलीयकरण गरेर धराशायी हुन दिने हो भने राष्ट्रिय स्तरमा जस्तोसुकै कानुन बने पनि त्यो निष्प्रभावी हुने निश्चित छ ।’ डा केसीले कार्यकारी निर्देशक नियुक्तिका लागि सर्च कमिटि बनाउँदादेखि नै चलखेल सुरु भएको भन्दै उक्त समिति खारेज गर्दै नयाँ बनाउन माग गरेका छन् ।

त्रिवि ऐनमा शिक्षण अस्पतालको निर्देशक योग्यता सह–प्राध्यापक वा सो भन्दा माथिल्लो पदका व्यक्ति भन्ने छ । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवाल संयोजक रहेको सर्च कमिटिले चार बर्ष कार्यकाल रहेका प्राध्यापकहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने नियम बसाएको थियो । त्यस अनुसार ६ जनाले मात्रै दरखास्त हालेका छन् । सर्च कमिटिको संयोजक डा अग्रवाल डा.केसी कै मान्छे हुन् । सदस्यहरुमा डा.जीवन शेरचन र डा रमेश भण्डारी छन् । सर्च कमिटिमा डिन स्वत संयोजक हुने व्यवस्था छ । कमिटि खारेज गरेर अर्को बनाए पनि संयोजक भने डा. अग्रवाल नै रहनेछन् ।

केसीको कब्जा गर्ने रणनीति
त्रिवी शिक्षणका एक चिकित्सकका अनुसार डा.केसी त्रिवी शिक्षण अस्पताललाई पूर्ण रुपले कब्जा गर्ने राणनीतिमा पहिलेदेखि नै योजनाबद्ध लागेका छन् । अनसनको १५ औं श्रृखलाले उनको यो अभियान सफलता उन्मुख छ । सोही अनुरुप उनले तलदेखि माथिसम्म सेटिङ गरेका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डाक्टर जगदीश अग्रवाल उनकै अनसनको जोडबलमा आएका हुन् । आईओएम अन्तर्गत महाराजगञ्ज क्याम्पसमा क्याम्पस प्रमुख डा.प्रताप नारायण प्रसाद पनि उनले नै ल्याएका हुन् ।

अब अर्को महत्वपूर्ण पद कार्यकारी निर्देशक पद खाली छ । तत्कालिन निर्देशक डा दीपकप्रसाद महराले राजीनामा दिएपछि निर्देशक नियुक्त भएको छैन । डा.महरा कांग्रेस निकट हुन् । नयाँ निर्देशक पदमा पनि डा.केसीले आफू अनुकुल अर्थात् कांग्रेस निकटलाई ल्याउन खोजेका छन् । यदि निर्देशक पनि आफू अनुकुल आए त्रिवि शिक्षण पूर्ण रुपले कब्जा गर्न सकिने उनको योजना छ । स्रोतका अनुसार डा.केसीले प्राडा वाइपी सिंहलाई निर्देशन बनाउन चाहेका छन् । डा.सिंह डा.केसीको खास मान्छे हुन् । केसीको रुची बुझेर डिन अग्रवाल पनि डा.सिंहलाई बनाउने अभियानमा लागेका छन् । उनको आजको विज्ञप्ती त्यही उद्देश्यको साथ आएको टिचिङ अस्पतालका एक चिकित्सकले बताए । उनले भने,‘निर्देशक मेरो मान्छे नबनाए अनिष्ट हुन्छ भन्न खोजेका हुन्, अब सिधैं डा.केसीको बनाइदिए भै गो नी ।’

डा.केसीले निर्देशक बनाउन खाजेका डा. सिंह विवादित चिकित्सक हुन् । उनले यसअघि सुरेश वाग्ले स्मृति क्यान्सर युनिट र अनुसन्धान केन्द्रको नेतृत्व सम्हाल्दा काम नगरेको, भ्रष्टचारमा संग्लन भएको आरोप छ । डा.सिहं नभए प्राडा ईश्वर लोहनी बनाउने केसीको योजना छ ।

नेकपा निकटलाई रोक्ने अभियान
निर्देशक पदमा सम्भावित अर्को नाम हो, प्राडा दिनेश काफ्ले । उनले यसअघि उपनिर्देशकको जिम्मेवारी सम्हालेका छन् । यसअघिका जिम्मेवारी राम्रोसँग निभाएका प्राडा काफ्लेलाई नेकपा निकट चिकित्सकहरुको साथ छ । यही कारणले डा.केसले डा काफ्लेलाई रोक्न खोजेका हुन् । डा.केसीले विज्ञप्तीमा दलिय आधारमा नियुक्ती गर्न लागेको उल्लेख गरेका छन् । स्रोतका अनुसार प्राडा काफ्ले आफू अनुकुल नहुने देखेपछि उनले दलिय आधार भनेका छन् ।

डा.केसीले विज्ञप्तीमा कनिष्ठ भनेर संकेत गरेका पनि डा.काफ्ले नै हो । तर, यसअघि उपनिर्देशक भएर काम गरीसकेका प्रा.डा काफ्रले केसीले भने जस्तो कनिष्ठ भने होइनन् । प्राडा काफ्ले प्रोफेसर भएको चार वर्ष पुरा भएको छ । अस्पतालका निर्देशक बन्नका लागि योग्यता, सह–प्राध्यापक हो । प्रा.डा काफ्ले डा.केसीले ल्याउन खोजेका भन्दा जुनियर होइनन् ।

के १६ औं अनसन बस्लान् ?
सम्भवत त्रिवि शिक्षणको निर्देशक पदमा डा.केसीले भनेका मान्छे नै सिफारिस हुनेछ । किनभने, भर्खरै अनसनले आजित सरकार फेरि अर्को अनसन खेप्ने पक्षमा छैन । यदि डा.केसीले भनेका मान्छे नियुक्ती भएनन् भने डा.केसी फेरि अनसनमा बस्ने सम्भावना बढी छ । एक चिकित्सक भन्छन्, ‘उनको हठ सरकारले बुझेको छ ।’ तर, सरकारले डा.केसीले भनेका मान्छे नियुक्ती नगरे चहिँ अनसन बस्ने निश्चित जस्तै रहेको बताइन्छ । एक चिकित्सक भन्छन्,‘निर्देशक उनले भनेको मान्छे भएन भने कब्जा गर्ने उनको योजना पूर्ण रुपले सफल हुदैन ।’

यो कुरा उनको इतिहास फर्केर हेरे पनि पुग्छ । डा.केसी पहिलो अनसन २०६९ असार २१ मा बसेका थिए । ४ बुँदे माग राखेका केसीको प्रमुख माग त्रिविको हस्तक्षेपबाट ‘आइओएम’लाई मुक्त गर अर्थात् उनका मान्छे डा. कुमुदकुमार काफ्लेलाई डिनमा नियुक्त गर । डा. काफ्ले नियुक्त भएपछि केसीले पाँचौँ दिनमा अनशन तोडे । काफ्लेको पदावधि सकिएको भोलिपल्टै केसी दोस्रोपटक अनशन बसे । उनको माग थियो, डा. प्रकाश सायमीलाई डिन नियुक्त गर्नुपर्ने । उनको माग पुरा भयो । अनसन तोडियो । यो श्रृखला अहिलेसम्म जारी छ । एक चिकित्सक भन्छन्,‘आफूले भनेको भएन भने अनसन बस्छन्, यसपाली पनि भएन भने बस्छन् ।’

को भगवान, को अपराधी ?
त्रिविका चिकित्सकहरुका अनुसार त्रिवि शिक्षण अस्पताल पछिल्लो समय युद्ध मैदान जस्तै बनेको छ । एक चिकित्सक भन्छन्, ‘डा.केसीले राजनीतिको मुख्य थलो बनाएको त्रिवि शिक्षण अस्पताल पछिल्लो समय घाट अथवा युद्ध मैदान जस्तो छ । डा.केसी समर्थक र अन्य चिकित्सकहरुबीच दोहोरो संवाद समेत छैन ।’ आफूलाई समर्थन गर्ने बाहेकका चिकित्सकहरुसँग डा.केसी र उनका सहयोगीहरुले दोहोरो संवाद नगर्ने गर्न छोडेको ती चिकित्सक बताउँछन् ।

सरकारसँग सम्झौता भएपछि डा.केसी र उनका सहयोगीहरु ‘युद्ध जितेर फर्केका राजा’को शैलीमा प्रस्तुत भएको अर्का चिकित्सकहरुको भनाई छ । सञ्चार माध्यम र सर्बसाधरणले समेत डा.केसीलाई भगवान र उनका आलोचना गर्नेलाई ‘अपराधी’ जस्तो हेरेको ती चिकित्सकको गुनासो छ । उनी भन्छन्,‘डा.केसी र तिनका सहयोगीहरुको तुच्छ स्वार्थ आएर त्रिवी शिक्षण अस्पताल हेरे हुने थियो । आफ्नालाई बनाउने आलोचकहरुलाई सिध्याउने खेल आज पनि जारी राखेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७