प्रकाण्डलाई मुद्दै-मुद्दा, शेरधन राईलाई बम हानेको आरोपमा पुर्‍याइयो भोजपुर


१९ भाद्र २०७५, मंगलवार
prakanda and sherdhan

काठमाडौं, १९ भदौ । सर्वोच्च अदालतको आदेशपछि छुट्दै पक्राउ पर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि अर्को आरोपमा मुछिएका छन् ।

prakanda and sherdhan

सात करोड चन्दा उठाएको आरोपमा पक्राउ परेका प्रकाण्डको पक्राउ श्रृंखला पछिल्लो पटक प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई स्थानीय निकायको चुनावका बेला बम आक्रमण गरेको घटनामा पुगेको छ । सोमबार सर्वोच्च अदालतको तेस्रो पटकको आदेशमा छुटेका प्रकाण्ड फेरि पक्राउ परेका छन् ।

उनलाई आजै विराटनगरबाट श्री एयर लाइन्सबाट भोजपुर लगिएको छ । निर्वाचनताका चुनावी प्रचार–प्रसारका क्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा पक्राउ गरी कार्बाहीका लागि भोजपुर लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नुवाकोट प्रहरीले पक्राउ गरेकोमा त्यसविरुद्ध वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले प्रक्रिया नपुर्‍याई थुनामा नराख्न आदेश दिएको थियो । विश्वकर्मालाई अदालतले रिहा गर्न आदेश दिए पनि बारम्बार छाड्दै पक्राउ गरेकोमा गम्भीर चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको थियो ।

यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै उनलाई अदालत बाहिर प्रहरीले पुनः पक्राउ गरेको थियो । यस्तै उनलाई विभिन्न मुद्दामा काभ्रे र नुवाकोटको अदालतमा उपस्थित गराउँदा त्यहाँका अदालतले समेत छोड्न आदेश दिंदा समेत उनलाई प्रहरीले छोड्दै पुनस् अदालत परिसरबाटै पक्राउ गर्दै आएको छ । काभ्रे प्रहरीले स्थानीय कांग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

शुरुमा विश्वकर्मालाई व्यापारीबाट सात करोड रुपैयाँ चन्दा असुल गरेको अभियोगमा पक्राउ गरिएको थियो । विश्वकर्माका तर्फबाट नरेन्द्रबहादुर विकले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई १ भदौमा रिहा गर्न आदेश दिएको थियो ।

फेरि पनि पक्राउ पर्ने भएपछि विश्वकर्माका सहयोगीले राष्ट्रिय मानवअधिकार आयोगमा जीवन रक्षाका लागि भन्दै खबर गरे । त्यसपछि आयोगका सदस्य सुदीप पाठक उनलाई लिन आए । राति ९ः३० को समयमा सर्वोच्च अदालतबाट पाठककै गाडीमा निस्केका विश्वकर्मालाई प्रहरीले गाडीबाटै पक्राउ गरी काभ्रेको एक क्रसर उद्योगमा आगजनी गरेको अभियोग लगायो ।

त्यसै दिन उनलाई धुलिखेल हिरासतमा राखियो । त्यसपछि उनका भाइले सर्वोच्चमा पुनः बन्दीप्रत्यक्षीकरणको रिट दायर गरे । सर्वोच्चले भदौ ७ मा उनलाई रिहा गर्न आदेश दियो । रिहा लगत्तै सर्वोच्चको गेट बाहिरबाट पक्राउ गरी उनलाई नुवाकोट हिरासतमा राखियो । सर्वाेच्च अदालतको आदेशमा छुटे लगत्तै फेरि पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटमा पेस गरियो । यसअघि नै जिल्ला अदालत नुवाकोटमा उनीविरुद्ध आगजनी मुद्दा दायर भएको थियो ।

गत महिना नुवाकोटको बेलकोटगढीमा एस्काभेटरमा आगजनी गरेको आरोपमा उनलाई फरार प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको थियो । काभ्रेमा क्रसर उद्योगमा आगजनी गरेको र नुवाकोटमा एस्काभेटर आगजनीमा उनी संलग्न भएको अभियोग प्रहरीले लगाएको छ । आगजनी मुद्दामा विप्लवसहित १६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । मानवअधिकारकर्मी चरण प्रसाईंले यसबाट राज्य विप्लवप्रति कठोर हुुँदै गएको संकेत मिलेको बताएका छन् ।

भोजपुरमा ज्यान मार्ने उद्योगको मुद्दा

गत फागुनमा नेत्रविक्रम चन्द (विप्लव) सँगै विश्वकर्माविरुद्ध वारेन्ट जारी भएको थियो । विप्लवसँगै विश्वकर्माविरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको छ । सोही कारण विश्वकर्मालाई भोजपुर लगिएको समाचार स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभा निर्वाचनका बेला विप्लव नेतृत्वको नेकपा माओवादीले देशभर आतंक मच्चाएको थियो । प्रहरीले त्यति बेला पाँच सयभन्दा बढीलाई नियन्त्रणमा लिएर अधिकांशलाई सार्वजनिक मुद्दा चलाएको थियो । सरकार परिवर्तनसँगै भोजपुरको एउटा घटनालाई लिएर विप्लव र विश्वकर्माविरुद्ध वारेन्ट जारी गरिएको थियो । रामबहादुर थापा गृहमन्त्री भए लगत्तै सरकारले विप्लवविरुद्व कडा नीति हो ।

यस्तो थियो भोजपुर घटना

तत्कालीन नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि उनको निर्वाचन क्षेत्रमा प्रचार प्रसारका क्रममा बम हमला भएको थियो । हमलामा उनका सहयोगी घाइते भएका थिए ।

राई चढेको अगाडिको भाग ध्वस्त भएको थियो घटना लगत्तै उनले आफूलाई मार्ने गरी सुनियोजित रुपमा बम हानिएको बताएका थिए । भोजपुर क्षेत्र नम्र–२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेद्वार रहेका राईले बम प्रहारको घटनापछि भनेका थिए, ‘मलाई सिध्याउने गरी सुनियोजित रुपमा बम हानिएको हो ।’

नेता राईमाथि भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जाँदै गर्दा बिहानको समयमा बम प्रहार गरिएको थियो । राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिका–६ कोटस्थित गुम्बा भन्ने स्थानमा बम प्रहार भएको थियो ।

बम प्रहारपछि गोली पनि प्रहार गरिएको थियो । गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका थिए । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका बताइएको थियो । उक्त घटनामा विप्लव माओवादीको हात रहेको बताइएको थियो ।

कठोर बन्दै सरकार

विप्लव समूहको गतिविधि नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्न थालेको छ । प्रधानमन्त्री केपी ओलीसहित गृहमन्त्री रामबहादुर थापालाई गृह मातहतका तीन वटै सुरक्षा निकायका प्रमुखले विप्लव समूहको गतिविधिप्रति सरकार बेलैमा सचेत रहनुपर्ने रायसहित ब्रिफिङ गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र सुरक्षा निकायका प्रमुखहरुलाई पश्चिम नेपाललगायतका विभिन्न भागमा विप्लव समूहको गतिविधिले जनमानसमा त्रास उत्पन्न गराएको भन्दै त्यस्ता गतिविधिलाई निस्तेज पार्न कडा रुपमा प्रस्तुत हुन यसअघि नै निर्देशन दिएका छन् ।

त्यसलगत्तै विप्लव समूहका प्रवक्ता विश्वकर्मासहित दर्जन नेता पक्राउ परिसकेका छन् । ‘विप्लव समूहले सशस्त्र हिंसामा जानेगरी गतिविधि सञ्चालन गरेको भन्दै सुरक्षा निकायका प्रमुखले त्यसलाई निस्तेज पार्न गृह मन्त्रालयले विशेष योजना बनाउनुपर्ने सुझाव दिएका थिए’, गृह मन्त्रालय स्रोतले भन्यो । त्यसक्रममा गृहमन्त्री थापाले शान्तिसुरक्षामा असर परे उनीहरुलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७