बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन


९ आश्विन २०७५, मंगलवार
karmachari 1

बैतडी, ९ असोज । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् ।

karmachari 1

देश संघीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् ।
शिक्षा शाखा प्रमुखबिहीन हुँदा जिल्लाका स्थानीय तहले शिक्षासम्बन्धी कामकाज गर्न असहज भएको जनाएका छन् ।

नगरपालिकामा उपसचिव एक, शाखा अधिकृत एक र एक प्राविधिक सहायक र गाउँपालिकाका एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ । तर बैतडीका कुनै पनि स्थानीय तहमा त्यो दरबन्दी पदपूर्ति हुनसकेको छैन ।

दरबन्दी पदपूर्ति नहुँदा शिक्षासम्बन्धी कामकाज गर्न समस्या भइरहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने, ‘विकासको मेरुदण्ड मानिएको शिक्षाका कर्मचारी अभावमा कामकाज प्रभावित भएको छ ।’

संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको भए पनि शिक्षाका दरबन्दी पदपूर्ति नहुँदा समस्या भएको छ । संविधानको व्यवस्थासँगै नगरपालिकाको नगर शिक्षा शाखाको प्रमुख र गाउँपालिकामा गाउँ शिक्षा शाखामा शिक्षाका अधिकृत खटाइएका हुन् । तर यहाँका स्थानीय तहमा कर्मचारी पुगेका छैनन् ।

साविकमा विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतलाई नै स्थानीय तहमा शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो । शिक्षा अधिकारी नहँुदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित भएको छ ।

शिक्षा प्रमुखको जिम्मेवारी स्रोत व्यक्तिलाई
जिल्लाका कुनै पनि स्थानीय तहमा सरकारी दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या हँुदै आएको छ ।

यहाँका १० वटै स्थानीय तहमा शिक्षाका निजामती कर्मचारी नभएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिकामा एक प्राविधिक सहायकबाहेक अन्य स्थानीय तहमा निजामती कर्मचारी नभएको विद्यालय निरीक्षक शङ्करदत्त भट्टले बताए ।

स्रोत व्यक्तिले नै हाल जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखा सम्हालिरहेका छन् । उनले भने, ‘कर्मचारी पदपूर्ति नहुँदासम्म स्रोत व्यक्तिलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको छ ।’ शिक्षकबाट काजमा रहेका स्रोत व्यक्ति यसअघि विभिन्न क्षेत्रमा खटाइएका थिए ।

ती स्रोत व्यक्तिले नै अहिले स्थानीय तहका शाखाको जिम्मा पाएका हुन् । स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन बन्दा शिक्षा नियमावली बनाउने, विद्यालय मर्ज गर्नुपर्ने काम र शिक्षा बजेट नै खर्च गर्न नसकिने अवस्था रहेको जनाइएको छ ।

संघीय सरकारले शिक्षाका उपसचिवलाई नगरपालिका र गाउँपालिकामा शाखा अधिकृत खटाइने तयारी भएकाले केही स्थानीय तहमा पदपूर्ति हुने जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए ।

उनले भने, ‘संघीय मन्त्रालय मर्ज हुँदा भएको अलमलले समस्या आएको छ, समस्या समाधान हुन्छ ।’ सरकारी दरबन्दीअनुसार बैतडीमा रहेका छ गाउँपालिका र तीन नगरपालिकामा २४ कर्मचारी दरबन्दी रहेको छ ।

तर जिल्लाको दोगडाकेदार गाउँपालिकामा एक प्राविधिक सहायकबाहेक अन्य २३ को दरबन्दी हुनसकेको छैन । नगरपालिकामा उपसचिव एक, शाखा अधिकृत एक र एक प्राविधिक सहायक र गाउँपालिकाका एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७