चीनबाट दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त हुँदै


१० कार्तिक २०७५, शनिबार
848 Nepal China

काठमाडौं, १० कात्तिक । चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करीब दुई अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ ।

848 Nepal China

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरेका छन् । आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसअघि दुवै देशका रक्षामन्त्रीले आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।
प्रतिरक्षा विश्वविद्यालय स्थापनामा सघाउन अनुरोध

उपप्रधानमन्त्री पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सघाउन गरेको अनुरोधलाई उनका चिनियाँ समक्षीले सकारात्मक रुपमा लिदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिएका छन् ।

उक्त दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपालको उक्त अनुरोधप्रति सहमति जनाउँदै चीनले आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रुप दिइनेछ ।

उपप्रधानमन्त्री पोखरेलले सैन्य प्रशिक्षण, मानवीय सहायता, विपद् व्यवस्थापन, चिकित्सा उपकरण, शान्ति सैन्य सञ्चालनलगायत पारस्परिक चासोका विषयमा छलफल गर्दै सहयोगको अपेक्षा गरेका थिए ।

एक चीन नीति तथा तिब्बत मामिलामा नेपालबाट निरन्तर सहयोग प्राप्त भएकामा चिनियाँ रक्षामन्त्रीले नेपालको सराहना गरे ।

भेटवार्तामा दुवै देशका रक्षामन्त्रीले आपसी भ्रमण आदानप्रदानबाट नेपाल र चीनबीच उच्च राजनीतिक तहमा आशा, विश्वास र भरोसा अभिवृद्धि हुने बताएको उक्त दूतावासले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष गरेको चीनको औपचारिक भ्रमणबारे पनि दुई देशका रक्षामन्त्रीबीच छलफल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७