शिक्षक परीक्षाको नतिजा रुजु हुँदै, तिहारअघि सार्वजनिक गरिने


१२ कार्तिक २०७५, सोमबार
TEACHER 875

काठमाडौं, १२ कातिक । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आन्तरिक कामलाई तीब्र पारिएको छ ।

TEACHER 875

अहिले परीक्षाको नतिजा प्रकाशन गर्नु पूर्व गरिने कामहरु (रुजु) को काम थालिएको छ । नतिजा प्रकाशन भने तिहारअघि गरिने भएको छ ।

नतिजा सार्वजनिक गर्नका लागि आवश्यक धेरै प्रक्रिया र विधि पूरा गर्नुपर्ने भएकाले तत्काल नतिजा प्रकाशन नहुने शिक्षक सेवा आयोगले जनाएको छ । तिहारपछि मात्र सबै नतिजा आउने आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिएका छन् ।

उत्तरपुस्तिका परीक्षण सकेर रुजु तथा पुनः परीक्षण भइरहेको छ । यही गतिमा काम भयो भने केही विषय र तहका परीक्षा तिहारअघि नै सार्वजनिक गर्न सकिने गौतमले जानकारी दिए ।
अस्थायी शिक्षकलाई आन्तरिक प्रतिष्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो ।

परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिष्पर्धा भएको छ । शिक्षकका फरक–फरक समूहले फरक–फरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफल भएको थियो ।

परीक्षामा प्रावितर्फ १६ हजार ५ सय ३२, निमावितर्फ ३ हजार २३४ र मावितर्फ २ हजार ३१० पदमा प्रतिष्पर्धा भएको आयोगका प्रशासकीय अधिकृत सहसचिव डा.तुलसी थपलियाले जानकारी दिएका छन् ।

अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी १ लाख ७ हजार छ, त्यसमध्ये करिब ७० हजार शिक्षक मात्र स्थायी र बाँकी अस्थायी दरबन्दीमा कार्यरत छन् ।

यसबाहेक आयोगले खुला प्रतिष्पर्धाबाट १२ हजार ७३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरिसकेको छ । त्यसमध्ये प्रावि, निमावि र मावि तहका लागि क्रमशः ९ हजार ९९६, १ हजार ६३५ र १ हजार १०८ दरबन्दी छन् ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सुझावका आधारमा शिक्षा ऐनको छैटौं संशोधनपछि २०५६ सालमा आयोग स्थापना गरेर खुला प्रतिष्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो ।

आयोग स्थापनापछि हालसम्म तीन पटक मात्र खुला प्रतिष्पर्धाबाट शिक्षक नियुक्त गरिएको छ । यस्तो प्रतिष्पर्धाबाट १८ हजार ३९ जना शिक्षक मात्र नियुक्त भएका छन् । आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७