लमही–घोराही १३२ केभी प्रशारण लाइन अन्तिम चरणमा


१२ मंसिर २०७५, बुधबार
bijuli 5TsvalQZX3

लमही, १२ मंसिर । दाङको लमही–घोराही १३२ केभी प्रशारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

bijuli 5TsvalQZX3

निर्माण गर्नुपर्ने कुल ३८ टावरमध्ये ३६ वटाको निर्माण पूरा भइसकेको छ भने बाँकी दुईको निर्माण भइरहेको परियोजना प्रमुख दीपक गौतमले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रशारण लाइनमा १३ किलोमिटर तार तान्नुपर्नेमा अहिलेसम्म पाँच किलोमिटर तार तानिसकिएको र बाँकी आठ किलोमिटर तार तान्ने काम एक हप्तामा शुरु हुने उनले बताए ।

‘निर्माणको काम करीब अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘पुस महिनाभित्रै निर्माण पूरा हुन्छ ।’ मुडवरी एण्ड जोशी कम्पनीले विसं २०७० देखि उक्त प्रशारण लाइन निर्माण शुरु गरेको हो ।

ठेकेदार कम्पनीको लापर्वाहीले दुई वर्षभित्र सम्पन्न हुनुपर्ने सो प्रशारण लाइनको निर्माण कार्य ढिलाइ भइरहेको प्रमुख गौतमले बताए । ‘ठेकेदारको लापर्वाहीले दुई वर्षभित्र सकिसक्नु पर्ने काम ३७ महिनासम्म पनि पूरा हुनसकेको छैन’, उनले भने ।

उक्त परियोजना सम्पन्न भएपछि घोराही क्षेत्रमा विद्युतको कम भोल्टेजको समस्या अन्त्य हुने तथा प्रशारण तथा वितरण प्रणालीमा समेत सुधार आउने प्रमुख गौतमले जानकारी दिए ।

सो प्रशारण लाइनबाट दाङका सिमेन्ट उद्योगहरू तथा तुल्सीपुरसम्म विद्युत पुग्नेछ । गौतमका अनुसार हापुरेको प्रशारण लाइन नबन्दासम्म तुल्सीपुरमा यही प्रशारण लाइनमार्पmत विद्युत् आपूर्ति हुनेछ ।

झिग्नी–माडीचौर प्रशारण लाइन
यसैबीच दाङको झिग्नीदेखि रोल्पाको माडीचौरसम्म १३२ केभी प्रशारण लाइन आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रोल्पाको माडीचौरमा विद्युत् सेवा पुर्‍याउन दाङबाट १३२ केभी विद्युत् रोल्पा लैजान लागेको आयोजना प्रमुख बलभद्र अधिकारीले जानकारी दिए ।

त्यसका लागि झिग्नीमा ट्रान्सफर्मर निर्माण भइसकेको छ भने रोल्पाको माडीचौरमा पनि ट्रान्सफर्मर निर्माणको प्रक्रिया चलिरहेको छ ।

३७ किलोमिटर दूरीको सो प्रशारण लाइन निर्माणका लागि अहिले वातावरण अध्ययन भइरहेको उनले बताए । पाँच वर्षभित्र निर्माण सम्पन्न हुने सो परियोजनाको लागत करीब रु एक अर्ब ५० करोड रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७