८८ केजी सुन तस्करीका आरोपीविरुद्ध पुनरावेदन, अदालतको फैसला त्रुटिपूर्ण भन्दै रिट फाइल


९ मंसिर २०७४, शनिबार
gold 88

काठमाडौं : तीन महिनाअघि महानगरीय अपराध महाशाखाले बरामद गरेको ८८ केजी सुन तस्करी प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी धरौटीमा छुटेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले छुटेकाविरुद्ध पुनरावेदन गरेको छ । सरकारी वकिल कार्यालयले ५ जना आरोपीविरुद्ध पुनरावेदन गरेको हो ।gold 88

जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैँबाट अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै रिट फाइल आएको उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता माधव ढुंगेलले जानकारी दिए ।
अदालतको आदेश र अध्ययन गरेको फाइल मगाइएको र अध्ययनप्रश्चात् उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर गरिने ढुंगेलले बताए ।
अदालतको आदेश चित्त नबुझेपछि चिनियाँ सुन तस्करीका मुख्य सहयोगी नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष तथा रसुवागुल्जुङनिवासी मानबहादुर तामाङ, सुन व्यापारी बांगेमुढामा शाक्य सुनचाँदी पसल सञ्चालक शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स सञ्चालक सत्यनारायण अग्रवाल र रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूविरुद्ध पुनरावेदन गर्न लागिएको हो ।
४६ करोड ७० लाख १६ हजार बिगो दाबी भएको मुद्दामा २ जनालाई ४/४ लाख तथा अन्य दुई जनालाई २÷२ लाख रुपैयाँ मात्र धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको हो ।
११ अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार ५ वर्ष कैद सजाय माग गरिएको थियो । अदालतको उक्त आदेश त्रुटिपूर्ण भएको भन्दै जिल्ला सरकारी वकिल काठमाडाैँले पुनरावेदनका लागि शुक्रबार उच्च सरकारी वकिल कार्यालयमार्फत रिट पठाइएको जनाएको छ ।
प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनको ठीकविपरीत काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले २४ कात्तिकमा थुनछेक आदेश दिएको थियो । जिल्ला अदालतले मुख्य आरोपीलाई धरौटीमा छोड्न आदेश दिँदै चालकलाई जेल चलान गरेको थियो ।
एक हजार रुपयाँ भाडा लिएर सुनको गाडी चलाउने चालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई जेल चलानको आदेश भएको थियो । उनीहरूसहित दिनखर सालुखे र नन्दकुमार मर्गलेलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएका थियो ।
प्रहरीले चालकहरू निर्दाेष देखिएको भन्दै १५ कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिल कार्यालयले उनीहरूलाई छाड्न नमिल्ने भन्दै चालकसहित ११ जनाविरुद्ध गत १९ कात्तिकमा जिल्ला अदालतमा संगठित अपराध मुद्दा दर्ता गरेको थियो ।

३३ केजी सुन तस्करीका अभियोगीविरुद्ध सर्वोच्चमा रिट
त्रिभुवन विमानस्थलबाट २० पुस ०७३ मा भएको ३३ केजी सुन तस्करीमा संलग्न आरोपी एसएसपी श्यामबहादुर खत्री र भन्सारका कर्मचारी श्यामकृष्ण श्रेष्ठ (च्वामु) विरुद्ध उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा रिट दायर भएको छ ।
उच्च अदालत पाटनले खत्री र श्रेष्ठलाई छाड्न आदेश दिएपछि उच्च सरकारी वकिल कार्यालयले अदालतको बन्दोबस्तीको १७ नम्बर महलबाट उनीहरूविरुद्ध रिट दायर भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिए ।
एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटी मागेको थियो । तर, उच्च अदालतले भने उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो ।
त्यस्तै, काठमाडाैँ जिल्ला अदालतले भन्सारका कर्मचारी श्यामकृष्ण श्रेष्ठलाई थुनामा राख्न आदेश दिएकोमा उच्च अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।एसएसपी खत्रीलाई काठमाडांै जिल्ला अदालतले धरौटी तोकेकोमा उक्त आदेश बदर गर्दै सामान्य तारेखमा छोड्ने आदेश दिएको थियो ।
उच्च अदालतका न्यायाधीश भीमकुमार ओझा र बलभद्र बाँस्तोलाको संयुक्त इजलासले तस्करीका आरोपीलाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो ।
विमानस्थलमा खटिएका एसएसपी श्याम खत्रीलाई काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले ४ चैत मा दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
एसएसपी खत्रीसहित धरौटीमा छुट्नेहरूमा राजेश शाक्य, वैभव लक्ष्मी सुन पसल न्युरोडका व्यापारी राजेश श्रेष्ठ, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठलाई जनही १ लाख रुपयाँ धरौटीमा छाडिएको थियो ।
काठमाडाैँ जिल्ला अदालतले छाडेपछि सुन तस्करीमा मुख्य भूमिका रहेको भन्दै थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने निवेदन परेको थियो ।
काठमाडौं जिल्ला अदालतले सुन तस्करीमा संलग्न भएकाहरूलाई छोड्न थालेपछि सरकारी वकिलले उच्च आदलत पाटनमा १६ चैत्रमा निवेदन दिएका थिए ।
फरार रहेर अदालतमा हाजिर भएर धरौटी तिरेर छुट्नेहरूमा रवि भन्ने राजेश बोगटीलाई २२ जेठमा काठमाडाैँ जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा छोडेको थियो । त्यस्तै, मल्लिका बज्राचार्य शाक्यलाई २९ जेठमा साधरण तारेखमा छोडेको थियो ।
राजेन्द्रकुमार शाक्यलाई २३ जेठमा १ लाख ५० हजार र गीता श्रेष्ठलाई ३० जेठमा १ लाख रुपयाँ धरौटीमा छोडेको छ । धरौटी तिरेर मुक्त हुने सबै सुन पसले हुन् ।

कति बरामद भएको थियो सुन ?
सुनका बिस्कुट थान २८२ (३२८९२.४८ ग्राम) । सुनका गहना ६८४.९२ ग्राम गरी जम्मा ३३,५७७.४ ग्राम । (३३ किलो ५७७.४ ग्राम) । मूल्य १६ करोड ८२ लाख ८८ हजार ७ सय ६६ रुपैयाँ बराबरको सुन बरामद ।
अभियोग दाबी
प्रतिवादीहरूउपर भन्सार ऐन, ०६४ को दफा ३८ को कसुरमा कुल बिगो १६ करोड ८२ लाख ८८ हजार ७ सय ६६ पैसा कायम गरी ऐ. दफा ५७ (१) बमोजिम बिगोअनुसार जरिवाना हुन र ऐ.दफा ५७ (१) (च) बमोजिम ५ वर्षसम्म कैद हुने मागदाबी गरिएको थियो ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७